त्रिपोली- लिबियामा आप्रवासीहरू बस्ने ठाउँमा भएको हवाई आक्रमणमा परी बुधबार कम्तीमा ४० आप्रवासी मारिएका छन्।
राजधानी त्रिपोलीको पूर्वी तजोरास्थित बन्दीगृहमा भएको आक्रमणमा परी अन्य ८० जना घाइते भएका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
संयुक्त राष्ट्रसङ्घको समर्थन रहेको सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मालेक मेर्सेकले ४० जनाको मृत्यु भएको र ८० भन्दा बढी घाइते भएका पुष्टी गरे।
युरोप जानका लागि लिबियालाई बाटो बनाएकाहरू बसेको ठाउँमा आक्रमण भएको हो। आक्रमणका बेलामा १२० जना आप्रवासी बन्द कोठाभित्र रहेका थिए।
राष्ट्रसङ्घले सघाइरहेको प्रधानमन्त्री फयेज अल सेरा नेतृत्वको राष्ट्रिय सहमतिको सरकारले यो आक्रमणमा स्वघोषित लिवियन नेसनल आर्मी (एलएनए)लाई दोष लगाएको छ।
आक्रमणको राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय सङ्घसंस्था र विभिन्न देशहरूले निन्दा गरेका छन्। उनीहरूले यो आक्रमणलाई अमानवीय र पासविकको संज्ञा दिएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।