काठमाडौं- सर्लाही र महोत्तरीका घटनामा प्रहरीले दमन गरेको भन्दै मानव अधिकारको रक्षा गर्न राष्ट्रिय जनता पार्टी राष्ट्रिय मानव अधिकार आयोग पुगेको छ।
बुधबार अपरान्ह राजपा अध्यक्ष मण्डलको टोलीले आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटी शान्तिपूर्ण विरोधमा जम्मा भएका सर्वसाधारण जनतामाथि गोली चलाएर दमन गर्न खोजेको भन्दै मानव अधिकारको रक्षाको पहल गर्न अनुरोध गरेको हो।
गत असार १५ गते पूर्व-पश्चिम राजमार्गको सर्लाही जिल्लाको बाँके चोकमा शान्तिपूर्ण विरोध प्रदर्शनमा आएका सर्वसाधारणलाई प्रहरीले गोली चलाउदा इश्वरपुर नगरपालिका-१३ का २६ वर्षीय सरोज नारायण सिंहको मृत्यु भएको थियो।
मृतक सिंहको टाउकोमा गोली लागेको थियो। प्रहरीले सामान्य बल प्रयोग गरेर नियन्त्रण गर्न सक्ने अवस्थामा पनि गोली नै चलाउनुले प्रहरीको मधेशी जनतालाई हेर्ने दृष्टिकोण अन्यभन्दा फरक रहेको राजपाले आरोप लगाएको छ।
'प्रहरीले शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार कुण्ठित गर्दै गोलि नै चलाउन थालेपछि मानिसको बाँच्न पाउने अधिकार नै खोसेको छ,' राजपा अध्यक्ष मण्डलका संयोजक अनिल झाले भने।
यता राजपा नेपालको ज्ञापनपत्र बुझ्दै आयोग अध्यक्ष शर्माले छानबिन आयोग गठन गर्न सरकारलाई दबाब दिनुपर्ने बताए। पछिल्ला केही घटनामा शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गर्न थालेको भन्दै बिना दबाब दिन सरकारले केही नगर्ने बताएका थिए।
सर्लाही र महोत्तरीको सीमामा रहेको बाँके नदीमा बालुवा गिट्टी निकाल्न खनेको खाल्डोमा डुबेर स्थानीय बालक १२ वर्षीय अमृत रायको मृत्यु भएको थियो। मृतकका परिवार र गाउलेले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै गरिएको प्रदर्शनमा प्रहरीले गोलि चलाएको थियो। जसमा सरोज सिंहको टाउकोमा गोली लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।