काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा अनियमितता गरेको र प्राप्तांकसमेत फेरबदल गरेको ठहर गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य मिश्रसहित पदाधिकारीलाई मुद्धा दायर गरेको हो।
त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मा, सदस्य चिन्तामणि पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोईराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी भन्तनाले दायित्व पूरा नगरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर भएको हो।
यसैगरी, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह-प्राध्यापक राजेश्वर न्यौपाने, सह-प्राध्यापक तारा प्रकाश पौडेल र राम बहादुर पाण्डे क्षत्री गरी १० जनाले पदीय मर्यादा अनुरुप दायित्व पूरा नगरी उक्त पदको लिखित परीक्षाको परिणाममा फेरबदल गरे/गराएको देखिन आएको उल्लेख गरेको छ।
उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले कुल प्राप्ताङ्क केरमेट गरेको उल्लेख छ। केरमेट गर्नुपर्ने नै भएमा सुरु अङ्क बुझिने गरी एकपटक मात्र काटेर अक्षरमा समेत लेखी दस्तखत गर्नुपर्ने, भित्रबाट बाहिर अङ्क सार्दा केरमेट नगरी फरक नपारी उतार्नुपर्ने भन्ने कुरा उत्तरपुस्तिका परीक्षकलाई दिइएको नियुक्तिपत्रमा स्पष्ट उल्लेख हुँदाहुँदै त्यस विपरीत परीक्षकले जथाभावी अङ्क केरमेट गरेको अख्यियारको आरोपपत्रमा उल्लेख छ।
साथै, उत्तरपुस्तिका परीक्षण गरेर बुझाइसकेपछि डिकोडिङ पश्चात् पास गराउनुपर्ने ब्यक्तिलाई तिनिहरुका उत्तरपुस्तिकामा अङ्क थपघट गरी नतिजा फेरबदल गराएको भन्ने पुष्टि भएको अख्तियारले उल्लेख गरेको छ।
अधिकृत, सहायक कानुनी सल्लाहकार, मूख्य लेखा सहायक, मूख्य कार्यालय सहायक र कार्यालय सहायकको लिखित परीक्षा सञ्चालनको क्रममा उत्तरपुस्तिका परीक्षणमा अनियमितता भएको अख्तियारको ठहर छ।
अख्तियारले कुन पदका लागि उत्तरपुस्तिका परिक्षण गर्दा कति अंक फेरबदल गरेको समेत प्रष्ट्याएको छ।
पदाधिकारीले आफू नजिकका व्यक्तिलाई उत्तीर्ण बनाउन अन्य उम्मेदवारको प्राप्ताङ्क घटाएको र अंक थपी आफ्नोलाई उत्तीर्ण गराएको भेटिएको छ।
केरमेट गरिएकोमा पनि अधिकांश उत्तर पुस्तिकाहरुको सुरुमा दिएको अङ्क नबुझिने गरी केरिएको, केरमेट भएकोमा परीक्षकको दस्तखत नभएको, उत्तरपुस्तिकाको भित्र दिएको अङ्क र बाहिर उतारिएको अङ्क फरक परेको, अङ्क फेरबदल भएकोमा सबै ठाउँमा अक्षरमा नलेखिएको अख्तियारले फेला पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।