काठमाडौं– जिल्ला अदालत काठमाडौंले महानगरीय प्रहरी वृत्त जनसेवा, न्युरोडका प्रहरी प्रमुख डिएसपी वासुदेव खतिवडालाई १० हजार जरिवाना गर्ने आदेश गरेको छ।
अदालतको आदेश पालना नगरेको भन्दै न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले न्याय प्रशासन ऐन, २०७३ को दफा ३४ अनुसार आदेश गरेको हो।
२०७५ चैत १७ मा घर खाली गराउने सम्बन्धी मुद्दामा गरेको प्रहरी वृत्त जनसेवाले असहयोग गरेपछि जिल्ला अदालतको यस्तो आदेश आएको हो। चैत १७ को आदेश चैत १९ मा महानगरीय प्रहरी वृत्त जनसेवालाई पत्राचार गरिएको, सो पत्र प्रनानि लक्ष्मण भण्डारीले बुझे पनि कुनै जवाफ नआएको अदालतको भनाइ छ।
पत्र बुझेपछि कुनै जवाफ प्राप्त नभएपछि पेसीको मिति तोकी महानगरीय प्रहरी वृत्त जनसेवाका कार्यालय प्रमुखलाई सम्बोधन गरी पुनः २०७६ असार १८ सक्कल फाइल पठाउन ताकेता पत्र लेखेको थियो। तर त्यसको पनि जवाफ आएन।
जिल्ला अदालतले यस्तो रकम यही महिनाको पारिश्रमिकबाट कट्टा गरेर राजस्वमा जम्मा गर्नसमेत आदेश गरेको छ।
यसअघि पनि जिल्ला अदालतले बालाजुका प्रमुखलाई यस्तै आदेश गरेको थियो। जिल्ला अदालतको उक्त आदेशपछि उनले भने भोलिपल्टै मिसिल अदालतमा पेस गरेका थिए। ‘नेपालको संविधानको धारा १२६ को उपधारा (२) मा मुद्दा मामिलाको रोहमा अदालतले दिएको आदेश वा निर्णयको सबैले पालना गर्नुपर्ने प्रावधान रहेको र पटक–पटक आदेश गर्दा पनि आदेशको पालना नगरी, पत्र बुझी कुनै जवाफ नदिई अटेर बस्ने कार्यालय प्रमुखलाई किन जरिवाना किन नगर्ने,’ जिल्ला अदालतको आदेशमा भनिएको छ, ‘महानगरीय प्रहरी वृत्त जनसेवा, न्युरोड काठमाडौंको कार्यले प्रस्तुत मुद्दा कारबाही र किनारा हुन नसकी न्याय सम्पादन गर्ने अदालतको कामकारबाहीमा बाधा/अवरोध सिर्जना हुन गएकाले यो आदेश सहितको पत्र बुझेको मितिले ३ दिनभित्र आदेश बमोजिम सक्कल फायल लिई उपस्थित हुनु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।