काठमाडौं - सर्वोच्च अदालतले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई उपचारमा लापरबाही गरेको ठहर गर्दै पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ।
न्यायाधीश पुरुषोत्तम भण्डारी र टंकबहादुर मोक्तानको इजलासले बुधबार यस्तो आदेश जारी गरेको हो। प्रसूति गृहले सुत्केरी गराउने क्रममा आमा र बच्चालाई क्षति गरेको ठहर गर्दै पीडितका पक्षमा फैसला गरेको हो।
सर्वोच्चबाट फैसला भएको मुद्दाको विषय १३ वर्षअघिको हो। २०६३ चैत २ गते सुत्केरी गराउने क्रममा बच्चालाई भ्याकुम प्रयोग गरेर निकालिएको थियो। सो क्रममा लापरबाही हुँदा नवजात शिशुको बायाँ गोडा बाङ्गो भएको, टाउको पछाडि फर्केको, शरीरको बायाँ भाग नचल्ने भएको, अनुहार भित्र पसेको, निधार र नाकमा घाउ भएको लगायतका समस्या देखिएको भन्दै सुत्केरीका आफन्तले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए।
०६४ साउन २ गते आफन्तले ८२ लाख ३० हजार रुपैयाँ क्षतिपूर्ति माग गर्दै उजुरी दिएका थिए। सो उजुरीका आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयको क्षतिपूर्ति समितिले अस्पतालले ५ लाख र डाक्टरले ५ लाख गरी १० लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो।
तर, त्यसका विरुद्ध डाक्टर र अस्पताल तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत) मा पुगेका थिए। पुनरावेदनले पनि जिल्ला प्रशासनकै निर्णयलाई सदर गरेको थियो। तर, उक्त आदेशमामा पनि चित्त नबुझेको भन्दै अस्पताल सर्वोच्चमा पुगेको थियो।
सर्वोच्चले सोही मुद्दाको विषयमा आज फैसला गर्दै अस्पताललाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने पुनरावेदनको फैसलालाई सदर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।