राजविराज– मान्छेले आफ्नोसँगै परिवार, आफन्त, छरछिमेकको खुसीका लागि प्राथमिक्ता निर्धारण गर्छ। नचिनेका, नजानेका र अञ्जान व्यक्तिको खुसी चाहने मान्छे विरलै पाइन्छ। तर, मान्छेको यो स्वभावभन्दा अलिक पृथक छन्, सप्तरी सदरमुकाम राजविराज १ का जिवछ पमरिया।
आफनो दुःख लुकाएर अरुका लागि सुख र खुसी खोज्नुलाई धर्म सम्झन्छन् जिवछ। बिहान झिसमिसे हुन नपाउँदै घरको नित्यकर्म सकेर गाउँ–टोल छिर्ने उनी अरुको खुसीमा खुसी थप्न सिपालु छन्। गाउँघरमा जब कसैको घरमा नवजात शिशुको जन्म हुन्छ, त्यसको ४५ दिनभित्रै जिवछ त्यो घरमा पुग्छन् र नाचगानसहित शिशुको दीर्घ जीवनको कामना गर्छन् र परिवारलाई बधाई दिन्छन्।
ढोल्का (ढोलक) को तालमा जब जिवछको नाच सुरु हुन्छ, तब घरका मान्छे शिशुसहित बाहिर निस्कन्छन् र आशीर्वाद थाप्छन्। ‘वधैया’ भनिने यो कलामा उनको एउटा गीत प्रचलित छ। धेरै गीत भए पनि ‘राजा दशरथ के चारो ललनमा हो रामा, खेलेला अँगनमा, किनका के श्रीराम किनका के लक्ष्मन, किनका के भरत हो ललनमा हो रामा’ भन्ने गीत मानिसले अत्यधिक मनपराउने गरेको उनले बताए।

पमरियाले वधैया गाउँदा बजाउने ढोलक
उनको नाचगान सकिएपछि शिशुका अभिभावले खुसी भएर दिएको न्योछावर (दान) नै आफ्नो कमाइको श्रोत भएको उनी बताउँछन्। शिशुका अभिभावकले नगद, दाल, चामल, लत्ताकपडा जे दिए पनि आफूले सहर्स स्वीकार गर्ने गरेको बताउँदै जिवछ। भन्छन्, ‘हाम्रो पेसा नै यही हो, यसैबाट गुजारा चल्छ।’ वधैया गाएको कमाइबाट आफूले चार छोरीको विहादान गरिसकेको र दुई छोराको पढाइ र घरखर्च पनि धानेको उनले बताए। उनले अरु पेशा गर्दा पनि खान–लाउन पुग्ने भए पनि आफ्नो पुख्र्यौली पेशा अपनाएर धेरै मानिसको घरमा पुग्नु र उनीहरुलाई खुसी बनाउनुमा निकै आनन्द आउने बताए।
वधैया गाउन सुनसरी, सप्तरी, सिरहा, धनुषा, उदयपुर र भारतका विभिन्न ठाउँमा पुग्ने गरेका जिवछले आफ्नो कलालाई आम्दानीको श्रोतका रुपमा मात्र नलिई संस्कृतिको जगेर्ना र धर्म कमाउने माध्यमका रुपमा पनि लिएका छन्। ‘राजा दशरथका छोरा भगवान श्रीरामको जन्म हुँदा पनि वधैया गाएर हाम्रा पुर्खाले दान लिएको इतिहास छ,’ उनी भन्छन्, ‘त्यसैले पमरियालाई दान दिनु भनेको सिधा भगवान् श्रीरामको भक्तलाई दान गर्नु हो।’
तर, पछिल्लो पुस्तामा देखिएको पुख्र्यौली पेशाप्रतिको वितृष्णाले संस्कृति नै लोप हुने चिन्ताले उनलाई सताउन थालेको छ। राजविराज १ मा रहेका करिब ५० घर पमरियामध्ये मुस्किलले १५ जनाले मात्रै वधैया गाउने गरेकाले विस्तारै संस्कृति लोप हुन लागेकोमा उनले चिन्ता व्यक्त गरे। ‘मेरो आफ्नै छोरो कमाइ गर्न भन्दै विदेश गयो, अब फर्केर वधैया गाउला भन्ने आश छैन,’ जिवछ भन्छन्, ‘पुर्खादेखि चलिआएको संस्कृतिको कसले रक्षा गर्ला?’
हजुरबुवा ढोसाइ, बुबा जैनुल हुँदै आफूले पनि बाल्यकालवाट नै वधैया गाउन थालेको बताउँदै उनले लोपोन्मुख अवस्थामा रहेका यस्ता लोकसंस्कृतिको उत्थान र जगेर्नाका लागि राज्यस्तरबाट पनि पहल हुनुपर्ने माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।