काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एक जना नायब सुब्बाको सरुवाको लागि आफूकहाँ ३२ जनासम्म सांसद आएको अनुभव सुनाएका छन्।
राज्यव्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले कर्मचारी सरुवामा भनसुनको विकृत परम्परा रहेको भन्दै सच्याउन आग्रह गरे। संघीय निजामति कर्मचारी ऐनका लागि विधेयकमाथि भइरहेको दफावार छलफलका क्रममा मन्त्री पण्डितले विगतको तितो अनुभव सुनाएका हुन्।
विधेयकको छलफलका क्रममा कर्मचारीको सरुवा र काज सरुवाको प्रावधानमाथि बुधबार छलफल भएको छ। मन्त्री पण्डितले सरुवाको लागि भनसुन धेरै आएको आफ्नो अनुभव सुनाउँदै अब बन्ने ऐनमा भनसुनको सुनुवाइ हुनै नसक्ने प्रावधान राख्न समितिलाई सुझाव दिएका छन्।
उनले भने, ‘कानुनसंगत प्रणालीमार्फत सरुवा हुनुपर्छ। फोन, भनसुनले कर्मचारीको सरुवा गर्ने परम्परा रोक्नुपर्छ।’
मन्त्रीको सुझावपछि समिति सभापति शशि श्रेष्ठले सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालालाई उठेका विषय सम्बोधन हुने गरी दफा तयार गर्न निर्देशन दिएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।