काठमाडौं- सत्तारुढ दल नेकपाकी नेतृ पम्फा भुसालले न्यायालयलाई 'प्रतिगामी' भएकाे आराेप लगाएकी छिन्। संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै सांसद भुसालले अदालतको निर्णय परिवर्तनको विरोधी रहेको भन्दै यस्ताे आरोप लगाएकी हुन्।
संसदीय समितिले लोकसेवाको विज्ञापन रद्द गर्न दिएको निर्देशन उल्ट्याएर सर्वोच्च अदालतले विज्ञापनअनुसार नै प्रक्रिया अघि बढाउन भनेपछि असन्तुष्टि पाेख्दै भुसालले यस्ताे आराेप लगाएकी हुन्। सर्वाेच्चले मगलबार लोकसेवा आयोगको पक्षमा आदेश गरेको थियो। सांसद भुसालले सो आदेश परिवर्तनको विरोधी भएको जिकिर गर्दै अदालत प्रतिगामी हुँदै गएकाे टिप्पणी गरिन्।
'अदालतभित्र मान्छे कस्ता छन्, म त्यता जान चाहन्न। तर, जुनरुपले यसले काम गरिरहेको छ यो परिवर्तनको पक्षमा छैन,' भुसालले थपिन्, 'मलाई लाग्छ परिवर्तनले नछोएको एक निकाय न्यायलय हो, जो अझै पनि प्रतिगामी छ।'
लोकसेवाको विज्ञापन समानुपातिक समावेशीताको ख्याल नगरी प्रकाशित गरिएको र सो कार्य संविधानको मर्मविपरीत रहेको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएको थियो। सो सम्बन्धमा सर्वोच्चमा ४ वटा रिट परेका थिए। तर, सर्वोच्चले ती सबै रिटको एकमुष्ट सुनवाइ गर्दै विज्ञापनअनुसार नै परीक्षा लिन आदेश दिएको थियो।
सांसद भुसालले ठूलो संघर्ष र बलिदानपछि मात्रै समानुपातिक समावेशीताको सिद्धान्त संविधानमा उल्लेख गर्न सफल भएको जिकिर गर्दै अदालतले सोको ख्याल नगरी आदेश दिएको जनाइन्। उनले अदालत सत्र सालको जस्तो भएको आरफव लगाइन्।
लोकसेवा आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोधमा लोकसेवा आयोगले ५ सय १५ स्थानीय तहका लागि विज्ञापन खुलाएको थियो। ९ हजार १ सय ६२ पदका लागि खुलाइएको विज्ञापन पूरानै व्यवस्थाअनुरुप आएको भन्दै व्यापक विरोध भएको थियो।
सरकार तथा लोकसेवा आयोगले भने प्रादेशिक लोकसेवा आयोगको गठन नभइसकेकाले पुरानै व्यवस्थाअनुसार विज्ञापन खोलिएको र सो कानुनसम्मत नै रहेको दाबी गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।