राजविराज– एक सातादेखि चलेको शीतलहरका कारण सप्तरीमा २ जनाको ज्यान गएको छ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ वरही निवासी ३५ वर्षीय रामदयाल राम र वीरपुर निवासी ३६ वर्षिया कुलदीप रायको चिसोका कारण मृत्यु भएको वडा अध्यक्ष विनोदकुमार यादवले जनाएका छन्। प्रहरीले घटनाको पुष्टि गरेको छैन।
शीतलहर र चिसोका कारण सप्तरीको जनजीवन कष्टकर भएको छ। बाक्लो हुस्सु र चिसो हावाका कारण तापक्रम घट्दै गएपछि सर्वसाधारणको चहलपहल समेत घटेको छ। चिसोले बालबालिका, वृद्धवृद्धा र बिरामी बढी प्रभावित भएका छन्।
अत्यधिक चिसोका कारण बिरामी पर्नेहरुको संख्या बढ्दै गएको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालले जनाएको छ। निमोनिया, पखाला, रुघाखोकी, ज्वरो लगायतका बिरामी बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दयाशंकरलाल कर्णले बताए। एक सातायता २ सयभन्दा बढी बिरामी अस्पताल भर्ना भएको उनले जानकारी दिए। बिरामीको बढ्दो चापका कारण बेड अभाव भएपछि भुइँमा समेत राखेर उपचार भइरहेको छ।
बाक्लो हुस्सुका कारण बिहानको समयमा चल्ने सवारीसाधनमा यात्रुको संख्या समेत घटेको छ। चिसो छल्न चौक–चौकमा दाउरा बालेर आगो ताप्नेहरुको भिड देखिन थालेको छ।
यस्तै, निजी तथा सरकारी विद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गएको छ भने विद्यार्थी नै आउन छोडेपछि ग्रामीण क्षेत्रका कतिपय विद्यालय खुल्नै छाडेको स्थानीयहरुले जनाएका छन्।
जिल्ला दैवी प्रकोप उद्धार समिति, रेडक्रस जस्ता संघ÷संस्थाहरुले भने शीतलहरबाट प्रभावितहरुलाई राहतका लागि हालसम्म कुनै अग्रसरता देखाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।