कैलाली– पूर्वराजा ज्ञानेन्द्र शाहले धनगढीस्थित शिवपुरी धाम उत्तरामेश्वर ज्योर्तिलिंगको दर्शन गरेका छन्।
बुधबार धनगढी आएका शाहले धामभित्र रहेको ज्योर्तिलिंग, भगवती मन्दिर र शिवमन्दिर परिक्रमा गरी पूजापाठ गरेका हुन्।
१२ बजेर ४५ मिनेटमा धाम पुगेका उनले मन्दिरमा एक घन्टा बिताएका थिए।
उनको भ्रमणका क्रममा कडा सुरक्षा व्यवस्था मिलाइएको थियो।

कैंया चौधरीको संयोजकत्वमा गठन गरिएको एक सय एक स्वागत समितिको अगुवाइमा धामको ३० मिटर बाहिरदेखि मन्दिरसम्मै फूलमाला सहित स्थानीयले शाहलाई स्वागत गरेका थिए।

पूजापश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै शाहले धेरैपछि जनतामाझ आउँदा खुसी लागेको बताए। उनले शिवपुरीधामको कार्यसमितिले आफूलाई दर्शनका लागि बोलाएकोमा पनि धन्यवाद व्यक्त गरे।
सुदूरपश्चिमको धार्मिक स्थलको दर्शनमा निस्किएका पूर्वराजाले आफू धार्मिक स्थलको दर्शन गर्न आएको हुनाले वर्तमान राजनीतिक विषयमा कुनै टीकाटिप्पणी नगर्ने प्रतिक्रिया दिए।
पूर्वराजा आजै नेपालगञ्ज फर्कने कार्यक्रम छ। नेपालगञ्जको होटलमा रात बिताउने र बिहीबार हेलिकोप्टरबाट सुदूरपश्चिमका डोटी, डडेल्धुरा र बैतडीमा अवस्थित धार्मिक स्थलको दर्शनमा निस्कने कार्यक्रम छ।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।