नेपालगन्ज- नेपालगन्जमा निर्मित सोल्टी होटलको व्यापार प्रवर्द्धनका लागि पुस १३ गते पूर्वराजा ज्ञानेन्द्र शाहसँगै नेपालगन्ज आएकी पूर्व युवराज्ञी तथा उनकी बुहारी हिमानी परिवारका अन्य सदस्यसँगै राजधानी फर्कंदैछिन्।
श्री एयरको बिहानको उडानबाट हिमानी परिवारका साथ राजधानी फर्कन लागेकी हुन्। हिमानीले मंगलबार परिवारका सदस्यका साथ नेपालगन्जको बागेश्वरी मन्दिरको दर्शन गर्नुका साथै पूजापाठ गरेकी थिइन्।
हिमानी राजधानी फर्केलगत्तै पूर्वराजा भने नेपालगन्जबाट सडकमार्ग हुँदै धनगढी प्रस्थान गरेका छन्।
एक सातासम्म सपरिवार नेपालगन्जमा बसेका पूर्वराजा ज्ञानेन्द्रले छिमेकी मुलुक भारतमा रहेका आफ्ना नातेदारसहित नेपालगन्जका उद्योगी तथा होटल व्यवसायीहरुसँग भेटघाट गर्नुका साथै अंग्रेजी नयाँ वर्ष पनि सँगै मनाएका थिए।

सडकमार्ग हुँदै मंगलबार बर्दियाको गुलरिया पुगेका उनले त्यहाँको बंगलामुखी मन्दिरको दर्शन गर्नुका साथै पूजापाठ गरेका थिए। नेपालगन्ज र बर्दियामा आफ्ना शुभेच्छुकबाट भव्य स्वागत पाएका ज्ञानेन्द्र आज धनगढी जान लागेका हुन्।
धनगढीमा उनले उत्तरबेहडीस्थित शिवपुरी धाम तथा एक सय आठ फिट अग्लो उत्तररामेश्वरम् ज्योर्तिलिङ्गको दर्शन गर्ने कार्यक्रम छ। उनको स्वागतका लागि धनगढीमा राजावादीहरूले कैंया चौधरीको संयोजकत्वमा एक सय एक सदस्यीय मुल स्वागत समिति गठन गरेका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले पूर्वराजा ज्ञानेन्द्रको कैलाली भ्रमणको तालिका भने अझै बनिनसकेको बताए।
एक साताको नेपालगन्ज बसाइमा उनले सोल्टी होटलको व्यापार प्रवर्द्धनका लागि बाक्लो भेटघाट गरेका थिए। होटेलमा पुगेका शुभेच्छुकसहित पाहुनासँग समेत सहज ढंगले कुराकानी गर्दै उनले सामूहिक र सेल्फी फोटोसमेत खिचाएर मन जित्ने प्रयास गरेका थिए। (साथमा धनगढीबाट शेरबहादुर ऐर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।