काठमाडौं- सरकारले पर्यटन प्रवर्द्धनका लागि विभिन्न चर्चित अन्तर्राष्ट्रिय मिडियाहरुलाई नेपालमा ल्याएर रिपोर्टिङ गराउने भएको छ।
'नेपाल भ्रमण वर्ष २०२०'लाई मध्यनजर गर्दै सरकारले विश्वका विभिन्न चर्चित अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिहरुलाई नेपालमा बोलाउने र यहाँका पर्यटकीय गन्तव्यको भ्रमण गराई रिपोर्टिङ गर्न लगाउने योजना अघि सारेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए।
संघीय संसद्को प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिको बैठमा बोल्दै मन्त्री बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सो योजना अघि सारेको बताएका हुन्।
'विश्वका चर्चित मिडियाहरु बिबिसी, सिएनएन, अल जजिरा, गार्जियन, न्युयोर्क टाइम्स, सिन्ह्वालगायतलाई नेपालमा बोलाउने र यहाँका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गराई यहाँको रिपोर्टिङ गराउने योजना बनाएका छौं,' मन्त्री बाँस्कोटाले भने, 'यसले नेपालका पर्यटकीय गन्तव्यका बारेमा विदेशसम्म जानकारी पुग्नेछ र पर्यटकको आवागमन बढाउने छ।'
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले विभिन्न देशका मिडियामा यहाँका पर्यटकीय गन्तव्यका बारेमा समाचार प्रकाशन/प्रशारण हुँदा यसले नेपालको तथा भ्रमण वर्षको 'ब्रान्डिङ' गर्नमा सघाउ पुग्ने समेत जिकिर गरे। उनले सीमित रकम खर्च भए पनि पर्यटकको आवागमनमा वृद्धि भई पछि खर्चभन्दा बढी आम्दानी हुने दाबी गरे। '२०/३० करोड रुपैयाँ खर्च होला। तर, पछि त्यो भन्दा बढी आम्दानी हुन्छ,' उनले भने।
मिडिया प्रतिनिधिलाई सरकारले देशका उत्कृष्ट पर्यटकीय गन्तव्यमा घुम्ने र त्यहाँको महत्वको बारेमा जानकारी गराउन छुट्टै संयन्त्रसमेत बनाउने तयारी गरेको छ। सो क्रममा उनीहरुले पर्यटकीय गन्तव्यहरुको तथ्य, फोटो तथा भिडियो संकलन गरी आफ्ना मिडियामा सम्प्रेषण गर्नेछन्।
सरकारले यो कार्यलाई 'इन्टरनेसनल मिडिया समिट'को नाम दिएको छ।
सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष लिएको छ। सोका लागि सरकारले देश तथा देशबाहिर पनि विभिन्न कार्यक्रमहरु गरिरहेको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।