काठमाडौं– साताव्यापी उत्तरी छिमेकी चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निष्पक्ष, पारदर्शी र न्यायमा आधारित विश्व व्यवस्थाको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिएका छन्।
चीनको डालिनमा आयोजित विश्व आर्थिक मञ्चको १३औं वार्षिक बैठक अन्तर्गतको ‘विश्व आर्थिक मञ्चका नेताको अनौपचारिक जमघट’सत्रलाई समोबार सम्बोधन गर्दै ज्ञवालीले यस्तो बताएका हुन्।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार मन्त्री ज्ञवालीले ‘विश्व अर्थतन्त्रका लागि नयाँ आधारको खोजी’ सत्रमा सम्बोधन गर्दै सबै राष्ट्रबीच उपकरण, स्रोतसधान र अवसरको समान वितरण आवश्यक भएको बताएका थिए।
त्यस्तै सोमबार मध्यान्नतिर आयोजित ‘सन् २०२० का लागि विश्वका २० औद्योगिक राष्ट्रको समूह जी—२० कार्यसूची निर्धारण’ सत्रलाई पनि सम्बोधन गरेका थिए। उक्त सत्रमा उनले नेपालजस्ता अतिकम विकसित देशको आवाजको पनि ‘जी—२० फोरम’मा प्रतिनिधित्व हुने महत्वमाथि जोड दिएका थिए।
‘व्यापार क्षमता निर्माण, आर्थिक पहुँच, प्रविधि हस्तान्तरण तथा सुरक्षित, व्यवस्थित र सम्मानजनक श्रम आप्रवासनसँग सम्बन्धित अतिकम विससित देशको विकास आकांक्षाको आवश्यकता र चिन्ताको सम्बोधन गर्नु महत्वपूर्ण छ,’ मन्त्री ज्ञवालले भने।
मन्त्री ज्ञवालीले डालिनमा रहेका नेपाली समुदायसँग पनि अन्तर्क्रिया गरेका थिए। उनले चीनमा सिकेको ज्ञान र सिपलाई स्वदेश फर्केर देशको विकासका लागि राम्रोसँग उपयोग गर्न पनि आग्रह गरेका थिए।
‘नेतृत्व ४.० : भूमण्डलीकरणको नयाँ युगमा सफलता’ शीर्षकमा चलिरहेको उक्त बैठकमा ज्ञवालीले मंगलबार पनि सम्बोधन गर्नेछन्। उनले आज ‘वातावरण परिवर्तन : अर्को आर्थिक संकट’ र ‘शक्तिको नयाँ सन्तुलन’ सत्रमा बोल्ने छन्।
मन्त्री ज्ञवालीको भ्रमण दलमा चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल र परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन्।
चीनमा रहँदा मन्त्री ज्ञवालीले राजनीतिक नेता र व्यापारीसँग पनि भेटघाट गर्नेछन्। चिनियाँ अधिकारीसँग उच्च तहको भेटघाटका लागि मन्त्री ज्ञवाली बुधबार डालिनबाट बेइजिङ प्रस्थान गर्ने छन्।
बैठकका लागि असार १५ गते चीन प्रस्थान गरेका उनी २० गते स्वदेश फर्किने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।