नेपालगन्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने राप्ती–सोनारी गाउँपालिकाको बाघखोर नजिकै हायास बसले ठक्कर दिँदा लोपोन्मुख जंगली जनावार चितुवा मरेको छ।
नेपालगन्जबाट प्यूठानतर्फ जाँदै गरेको बा४ख २९७४ नम्बरको माइक्रो बस (हायस) को ठक्करबाट करिब ३ वर्षको भाले चितुवाको घटनास्थलमै मृत्यु भएको हो।
चितुवालाई ठक्कर दिएको माइक्रोले बाँके निकुञ्जको शिवखोला चेक पोस्टलाई दुर्घटनाबारे कुनै जानकारी नदिई इन्ट्री गरेर दाङको अमेलिया पुगेको थियो।
गाडीको ठक्करबाट चितुवा मरेको सूचना पाउनासाथ निकुञ्ज सुरक्षार्थ खटिएको श्री मेयर गणको टोलीले ठक्कर दिने माइक्रो र चालक यामलाल रानालाई अमेलियाबाट नियन्त्रणमा लिएको छ।
चितुवा साइटिस सूचीमा परेको लोपोन्मुख जनावर हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार चितुवालाई मार्ने व्यक्तिलाई एक वर्ष कैद वा ५० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गमा ४० किलोमिटर प्रतिघन्टा भन्दा बढी गतिमा गाडी चलाउन नपाइने कानुनी व्यबस्था भए पनि तीव्र गतिमा माइक्रो लाएका कारण बाटो काट्ने क्रममा रहेको चितुवालाई ठक्कर दिएको बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भन्डारीले बताए।
बर्दिया राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा हुने सडक दुर्घटनालाई रोक्न ‘टाइम कार्ड’ लागू परे पनि बाँके राष्ट्रिय निकुञ्जमा टाइम कार्डको व्यवस्था छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।