काठमाडौं- नेपाल स्टक एक्सचेन्जले दोश्रो बजारको बारेमा प्रशिक्षित गर्न अभियान चलाउने भएको छ।
सोमबार काठमाडौंमा नेप्से अनलाइन कारोबारको प्रगतिका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा काठमाडौं बाहिरका ग्राहक र विद्यार्थीहरुलाई सेयर बजारबारे जानकारी दिन प्रशिक्षण अभियान चलाउने बताइएको हो।
नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह सावदले नेप्सेले अनलाइनको माध्यमबाट कारोबार सुरु गरेपछि देशभरिबाट सेयर किनबेच गर्न सकिने भएकोले दोश्रो बजारमा आउन इच्छुक सबैलाई सेयर कारोबार र अनलाइन कारोबारबारे जानकारी दिन आवश्यक रहेको बताए।
दोश्रो बजारमा कारोबार गर्नेको शंख्या काठमाडौं उपत्यकाको तुलनामा उपत्यका बाहिरको संख्या बढ्दै गएकोले सेयर दलाल र विद्यार्थीहरुलाई प्रशिक्षण दिन लागिएको उनको भनाइ छ।
नेपाल स्टक एक्सचेन्जले गएको कार्तिक २० बाट सेयर कारोबारको अनलाइन प्रणाली सुरु गरेको हो। यसबाट सेयर किनबेच, भुक्तानी र सेयर कारोबारसम्बन्धी अन्य सबै काम हुँदै आएको छ।
नेप्सेको अनलाइन प्रणाली विभिन्न 'क्लियरिङ्ग' कम्पनीहरुसँग पनि जोडिएको हुदा सेयरसम्बन्धी सबै काम छिटो हुन थालेको छ। अहिले अनलाइन प्रणालीमा सूचिकृत भएर ११ हजार बढी सेयर दलालहरुले कारोबार गरिरहेका छन्।
हालसम्म अनलाइन प्रणालीमार्फत करिब १० अर्ब ६० करोड ३४ लाख कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।