विराटनगर- प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अमेरिकाको बाल्टिमोरमा असार २० देखि २२ गतेसम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनमा भाग लिन अमेरीका प्रस्थान गरेका छन्।
कार्यक्रको प्रमुख अतिथि रहेका राई सोमबार साँझ अमेरिका प्रस्थान गरेका हुन्।
प्रदेश १ सरकारको सिफारिस र संघीय सरकारको स्वीकृतिमा राई अमेरिका प्रस्थान गरेको उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए।
मुख्यमन्त्री राईले गैर आवासीय नेपालीलाई सम्बोधन गर्ने कार्यक्रम छ। उक्त कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ को विकास प्रक्रियाका बारेमा सम्बोधन गर्नुका साथै गैर आवासीय नेपालीको भूमिकाको विषयमा समेत धारणा राख्ने जनाईएको छ।
प्रदेश १ सरकारले भर्खरै नीति तथा कार्यक्रम र बजेट ल्याएसँगै मुख्यमन्त्री राईको यो अमेरिका भ्रमणलाई अर्थपूर्ण हिसाबले हेरिएको छ। नीति कार्यक्रम र बजेटमा प्रदेश सरकारले लगानी सम्मेलन गर्ने जनाएको छ।
लगानी सम्मेलनबारे पनि मुख्यमन्त्री राईले अमेरिकामा रहेका नेपालीहरुसँग छलफल गर्नेछन्।
सम्मेलनको आयोजना अमेरिकामा रहेका नेपाली चार संस्था एसोसोयसन अफ नेपालीज इन दि अमेरिका, एसोसोयसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिका, अन्तर्राष्ट्रिय साहित्य समाज र बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिकाले संयुक्त रुपमा गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।