काठमाडौं– अकुत सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचारको मुद्दा खेपेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नासु दुर्गाबहादुर कार्कीलाई सर्वाेच्च अदातलले सफाइ दिने फैसला सुनाएको छ।
न्यायाधीश पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले कार्कीलाई सफाइ दिने फैसला सुनाएको हो।
लामो समयदेखि भन्सार कार्यालयमा बसेका नासु कार्कीले १ करोड ७ लाख ५७ हजार सम्पत्तिको स्रोत खुलाउन नसकेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। ०५८ सालमा दर्ता गरेको २२ कर्मचारीको अकुत सम्पत्ति मुद्दामा कार्की पनि तानिएका थिए। तत्कालीन समयमा विशेष अदालतका अध्यक्ष भुपध्वज अधिकारी, चोलेन्द्र शम्शेर राणा लगायतको इजलासले उनलाई सफाइ दिएको थियो।
तर, सर्वोच्चले विषयभित्र प्रवेश नभई मुद्दा फैसला भएको भन्दै पुन सुनुवाइको लागि फर्काएको थियो। उक्त मुद्दामा पुनः फैसला सुनाउँदै विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्कीसहितको इजलासले कार्कीलाई भ्रष्टाचारी ठहर गरेको थियो। कार्कीले पदको दुरुपयोग गरी ३५ लाख अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेषले ०६६ माघ २२ गते १ वर्ष कैद तथा बिगो र जरिवाना गरी ७० लाख रुपैयाँ असुल हुने फैसला सुनाएको थियो।
सो फैसला विरुद्ध कार्कीले ०६७ भदौ ३१ गते पुनरावलोकलनको मागसहित सर्वोच्चमा पुगेका थिए। सर्वोच्चले सबै प्रतिवादी निर्दोष रहेको फैसला सुनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।