राजविराज– २०७३ साउन २८ मा आएको बाढीले सप्तरीका कोशी पम्प, चन्द्रनहर र कोशी पश्चिमी नहर गरी तीन वटै ठूला सिँचाइ प्रणालीमा ४४ करोड रुपैयाँभन्दा बढीको क्षति गर्यो।
चन्द्रनहर प्रणालीको तिरहुत गाउँपालिकास्थित बुधेवामा नहरको पानी पास गर्ने प्रणाली (एक्युडक्ट) बिग्रिँदा सबैभन्दा ठूलो क्षति भएको थियो। कोशी पम्प चन्द्रनहर सिँचाइ डिभिजन कार्यालयको रेकर्डअनुसार बाढीले चन्द्रनहरमा मात्रै १८ करोड ३७ लाख रुपैयाँभन्दा बढीको क्षति गरेको छ।
यसका साथै खहरे खोलामा आएको बाढी पास गर्न बनाइएका साइफन/कल्भर्ट थुनिएर फत्तेपुर, प्रसाहा, भगनी, घोघनपुर, सुब्बाटोल, बडहरा टोल, मैनाकडेरी, ओद्राहा, बलुवा, बरमझिया, गोइठी, डिमन, बनौलीलगायतका खण्डमा समेत बाढीले नहरमा क्षति पुर्याएको थियो।

तत्कालीन समयमा कार्यालयले भत्किएका अधिकांश ठाउँमा मर्मत/सम्भार गरी सिँचाइको व्यवस्था त मिलायो। तर, खहरे खोलाको निकासका लागि बनाइएका र वर्षौंदेखि थुनिएका साइफन/कल्भर्ट खुलाउने विषयमा भने कुनै ध्यान दिएको छैन। साइफन/कल्भर्ट व्यवस्थापनमा ध्यान नदिँदा नहरमा क्षति पुगेको र आसपासका खेतीयोग्य जमिन पनि बालुवाले पुरेको स्थानीयको गुनासो छ।
यस्तो छ साइफनको समस्या
तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले विसं १९८० को दशकमा (सन १९२३ देखि १९२७) निर्माण गराएको मुलुककै पुरानो सिँचाइ प्रणाली हो, चन्द्र नहर।
तत्कालीन समयमा खहरे खोलाले नहरलाई क्षति पुर्याउने खतरा मूल्यांकन गरी सुरक्षा गर्न नहरको मुनिबाट पानी पास हुने गरी आवश्यक ठाउँमा साइफन/कलभर्ट निर्माण गराइएको छ। तर, नहरको हेड बाँधदेखि गंगाजली खोलासम्म निर्माण भएका करिब १ दर्जन साइफन अहिले बन्द भएका छन्।

बंगलाचौरीस्थित तत्कालीन सिँचाइ कार्यालय भवनदेखि पूर्व, विष्णु मन्दिरको छेउ, गोवर्द्धन वैरागी जनता माविको छेउ, प्रसाहा टोल लगायतका करिब १ दर्जनभन्दा बढी स्थानमा रहेका साइफन बन्द भएका छन्। अव्यवस्थित बसोबास तथा सिँचाइ कार्यालयको बेवास्ताका कारण साइफन सञ्चालन हुन नसकेको र त्यसैका कारण खहरे खोलाको बाढीले नहर तथा खेतीमा क्षति गर्ने गरेको स्थानीयहरु बताउँछन्।
बाढीले नहरमा मात्र नभई आसपासका सयौं विघा खेतीयोग्य जमिनसमेत बालुवाले पुर्ने गरेको र टेंग्रा खोला नजिकैको वस्तीसमेत खतरामा परेको उनीहरुको भनाइ छ।
जिल्ला प्रशासन पुग्यो उजुरी
सिँचाइ कार्यालयले भएका साइफन व्यवस्थापन नगर्दा गाउँवस्ती जोखिममा परेको र नहरका संरचनासहित खेतीयोग्य जमिनमा समेत क्षति पुगेको भन्दै त्यसविरुद्ध स्थानीवासी जुर्मुराएका छन्। उनीहरुले साइफन सञ्चालन र सर्वसाधारणलाई आइपर्ने समस्या निराकरणको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरीसमेत दर्ता गराएका छन्।
गत जेठ २४ गते सप्तकोशी नगरपालिका १, २ र ४ का ८९ जना सर्वसाधारणले दर्ता गराएको उजुरीमा वडा नम्बर १ र २ स्थित चुरे वन क्षेत्रबाट निस्कने अमाहा, सत्रपत्रे, बाँदर खोपी, तुरतुरिया, झाडीखण्ड, भलुवाईलगायतका खोलाको बाढी साइफनका कारण बन्द हुँदा क्षति बढेको उल्लेख छ। ‘प्राकृतिक रुपमा पानीको बहाव मुख्यरुपमा उत्तरतर्फ त्रियुगा नदीमा बग्ने गरेको थियो,’ उजुरीमा भनिएको छ, ‘रहलपहल पानी विभिन्न दिशातर्फ छरिएर बग्दा बाढी र पहिरोको जोखिम थिएन।’
नहरका कल्भर्ट/साइफन बन्द गरी सबै पानी वडा नम्बर ४ स्थित टेङ्गार खोलामा मिसाउँदा त्यस क्षेत्रका सर्वसाधारण विस्थापित हुने बेला आएको र खेतीयोग्य जमिन बालुवाले पुरेको उनीहरुको आरोप छ।
अर्कोतर्फ सप्तकोशी नगरपालिकाकै बजेट खर्चिएर वन क्षेत्रभित्र बाँध बाँधी खहरे खोलाहरुको पानीको प्राकृतिक बहावलाई त्रियुगातर्फ जानबाट रोकिएको उनीहरुको भनाइ छ। अमाहालगायत वडा नम्बर १ र २ का खहरे खोलालाई वडा नम्बर ४ स्थित चन्द्र नहरको टेंग्राहा साइफनमा फर्काइएपछि आफूहरु अन्यायमा परेको उजुरीमा उल्लेख गरिएको छ।
स्थानीयवासीले यस सम्बन्धमा ०७५ जेठ ११ गते सप्तकोशी नगरपालिकामा पनि निवेदन दिएका थिए। सो सम्बन्धमा कुनै सुनुवाई नभएको स्थानीयहरु बताउँछन्।
'नगरपालिका र डिभिजन वन कार्यालयद्वारा बजेट दुरुपयोग'
बाँध र साइफन मर्मतका नाममा सप्तकोशी नगरपालिका र कोशी पम्प चन्द्रहर सिँचाइ डिभिजन कार्यालयले रकमको समेत दुरुपयोग गरेको स्थानीयहरुको आरोप छ।
‘आव २०७४/०७५ मा सप्तकोशीले टेंग्राहा साइफन सरसफाइका नाममा लाखौं रुपैयाँ खर्चियो। तर, बजेट दुरुपयोग गरी सो क्षेत्रका निमुखा जनताको उठिवासको अवस्था सिर्जना गरेको छ,’ उजुरीमा भनिएको छ, ‘चालू आव २०७५/०७६ मा सिँचाइ कार्यालयले पनि टेंग्राहा साइफनदेखि उत्तरतर्फ नहरको पश्चिमी बाँधको मर्मत कार्य गरेको अवस्था छ।’
जिल्ला प्रशासनको तीन कार्यालयलाई पत्र
सर्वसाधारणको उजुरीपछि जिल्ला प्रसासन कार्यालय सप्तरीले सप्तकोशी नगरपालिका, चन्द्रनहर सिँचाइ डिभिजन कार्यालय र डिभिजन वन कार्यालयलाई पत्रचार गरी वास्तविक्तासहित तत्काल राय प्रतिक्रिया पठाउन निर्देशन गरेको छ।

निर्देशनअनुसार आफूहरुले समस्याको अनुगमन गरिरहेको र एक साताभित्रै प्रतिवेदन बुझाउने चन्द्रनहर सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर सुनिल झाले बताए। उनले साइफन बन्द भएको र बाढीले बेलाबखत नहरको बाँध भत्काउने गरेको स्वीकार्दै प्रतिवेदनमार्फत वास्तविकता प्रस्तुत गर्ने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।