बाबियाचौर, म्याग्दी- मालिका गाउँपालिकाले सडक र घरको मापदण्ड कायम गरेको छ।
गाउँ कार्यपालिकाको हालै बसेको बैठकले गाउँपालिका क्षेत्रका सडक, घर र भवनको मापदण्ड तोकेको हो। बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड, २०७२ लागू गर्ने निर्णय भएपछि नयाँ घर निर्माणको नक्सा पास र सडकको मापदण्ड कायम गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए।
गाउँपालिकाको सडक न्यूनतम ६ मिटर फराकिलो हुने भएको छ। बजार क्षेत्रमा व्यापारिक भवन निर्माण गर्दा सडकलाई दुई र आवासीय भवन बनाउँदा डेढ मिटर छाड्नुपर्नेछ।
यसैगरी दरवाङ बजारको फोहर व्यवस्थापन गर्न गाउँपालिकाले ट्र्याक्टर खरिद गर्ने भएको छ। ट्र्याक्टर खरिद र बजारमा शहरी सुरक्षाका लागि सडक बत्ती जडान गर्न रु ४६ लाख विनियोजन गरिएको छ। बजेट संशोधन गरेर कृषि र पशु विकाससम्बन्धी कार्यक्रमलाई समावेश गरेको छ।
गत असारमा सम्बन्धित विषयगत कार्यालयसँग समन्वय नहुँदा योजना, नीति तथा कार्यक्रम र बजेटमा कृषि र पशुसेवाको क्षेत्रमा बजेट विनियोजन हुन सकेको थिएन। हालै बसेको गाउँ कार्यपालिकाको बैठकले अन्य शीर्षक र जगेडा बजेटमार्फत कृषि र पशु सेवासम्बन्धी कार्यक्रमलाई समेटिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए।
सम्बन्धित मन्त्रालयको राष्ट्रिय कार्यक्रमसँग आबद्ध हुने गरी वडासँग समन्वय गरेर कार्यक्रम कार्यान्वयन गरिने भएको छ। कृषिका लागि रु ३२ लाख र पशुसेवातर्फ रु १७ लाख ५० हजार बजेट विनियोजन गरिएको अध्यक्ष रोकाले बताए।
यसअघि मंगला र धौलागिरि गाउँपालिकाको कार्यपालिका बैठकले कृषि र पशु विकाससम्बन्धी कार्यक्रमलाई वार्षिक बजेटमा समेटिसकेका छन्। बेनी नगरपालिका, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाले कृषि र पशुसेवाका योजना तथा कार्यक्रमलाई समावेश गर्न वास्ता नगरेको कृषको गुनासो छ।
मालिका गाउँपालिकामा स्थानीय प्राकृतिक स्रोत साधनको परिचालन गरी रोजगारी सिर्जना र आयआर्जन वृद्धिका लागि लद्युउद्यम विकास कार्यक्रम सञ्चालन गरिने भएको छ। लद्युउद्यम विकास रणनीति तयार पार्ने काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताइन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।