काठमाडौं- नेपाल धितोपत्र बोर्डले काठमाडौंमा वृहत अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।
वित्तीय साक्षरता बढाउने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डले यही असार १७ र १८ गते काठमाडौंमा वृहत अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बोर्डका कार्यकारी निर्देशक परिस्थनाथ पौड्यालले वित्तीय साक्षात्कारलाई बढाउने उद्देश्यका साथ सो सम्मेलन आयोजना गर्न लागिएको बताए। धितोपत्र नियमनकारी अन्तर्राष्ट्रिय संस्था ‘इन्टरनेसनल अर्गनाइजेसन अफ सेक्युरिटी कमिसन्स (आइओस्को)को सहकार्यमा आयोजना गर्न लागिएको सो सम्मेलनको उद्घाटन अर्थमन्त्री डा युवराज खतिवडाले गर्नेछन्।
सम्मेलनमा भारत, अमेरिका, सिंगापुर, थाइल्यान्ड, दक्षिण अफ्रिका, चीन, अष्ट्रलिया, भुटानसहितका पुँजी बजारमा विज्ञहरु, लगानीकर्ताहरु सहभागी हुनेछन्। वित्तीय साक्षरताका सम्बन्धमा विभिन्न सत्रहरु सञ्चालन हुने र त्यसले नेपालको पुँजी बजारलाई चलायमान बनाउन ठोस सुझाव प्राप्त हुने विश्वास गरिएको छ।
सम्मेलनमा वित्तीय समावेशीका विषयमा पनि विस्तृत छलफल हुने बोर्डले जनाएको छ। कार्यक्रममा बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले बोर्डको रजत जयन्तिको अवसर पारेर निश्काषन गरिएको सय रुपैयाँको चाँदीको सिक्का लोकार्पण गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।