नुवाकोट- जिल्लाका भूकम्पपीडितका लागि ल्याइएका खाद्यान्नसहितका राहत सामग्री प्रयोगविहीन भएकाले नष्ट गरिएको छ।
विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको राहत सामग्रीको म्याद गुज्रिनुका साथै कुहिएर प्रयोगविहीन भएकाले एकसाता लगाएर नष्ट गरिएको हो।
२०७२ बैसाख १२ को विनाशकारी भूकम्पलगत्तै बैसाख र जेठ महिनामा विभिन्न संस्था र दातृराष्ट्र प्राप्त राहत भण्डारण गरिएको थियो। लामो समयसम्म सही व्यवस्थापन नहुँदा सामग्री कुहिएको थियो।
भूकम्पपछि जिल्लाका प्रशासक र राजनीतिक दलबीच राहत वितरणमा उत्पन्न विवादले ती सामग्री भण्डार गरिएको थियो। रु ५ करोडभन्दा बढीको राहत सामग्री इलम प्रशिक्षण केन्द्रस्थित चिसो भुइँमा अव्यवस्थितरुपमा राखिएका कारण आधाभन्दा बढी सामग्री कुहिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए। उनका अनुसार नष्ट गरिएका सामग्री रु २ करोडभन्दा बढी मूल्यको छ।
राहत सामग्री गन्हाउन थालेपछि सरोकारवालाको दबाबले जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले प्रशासकीय अधिकृत शर्माको संयोजकत्वमा समिति गठन गरी नष्ट गरेको हो। भण्डार गरिएको ३२ महिनापछि कुनै पनि सामग्री काम नलाग्ने भएका छन्र। पोसाक, टेन्ट, त्रिपाल, डस्ना–कम्बल लगायत सामग्रीसमेत कुहिएका थिए।
भण्डारणस्थलमा अझै सुरक्षित रहेका रु ३ करोड बराबरका टेन्ट, त्रिपाल, तयारी पोशाक, बच्चाले लगाउने कपडा, कम्बल–डस्ना, सौर्य बत्ती, ग्यास चुलो लगायतका सामग्रीको व्यवस्थापनमा समेत अन्योल छ।
सुरक्षित सामग्री जिल्ला दैवी प्रकोप उद्धार समितिको सभाहलमा भण्डारण गरिए पनि त्यहाँ नअटाएपछि साविकको भण्डारणस्थलमा राखिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।