काठमाडौं- रानीपोखरीको केही भाग उत्खनन गरिने भएको छ।
रानीपोखरी पुनर्निर्माण सम्बन्धी विशेषज्ञ समितिको सुझाव अनुसार मंगलबारबाट उत्खनन थालिने भएको हो। सोमबार बसेको समितिको बैठकले केही भाग खनेर ऐतिहासिक तथ्य पत्ता लगाउन सुझाव दिइएको समूहका संयोजक तथा पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले बताए। उनका अनुसार पुरातत्वविद्हरूले मंगलबार पोखरीको दक्षिणी डिलको उत्खनन सुरु गर्नेछन्। रानीपोखरी निर्माणको पृष्ठभूमि तथा प्रयोग भएका सामग्रीबारे अध्ययन गर्न उत्खनन गर्न लागिएको हो। उत्खननबाट प्राप्त नतिजा अनुसार समितिले सर्वसाधारणसँग सुझाव लिनेछ।
रानीपोखरी पुनः निर्माणबारे सर्वसाधारणसँग विचार लिनका लागि मंगलबार पाँच दिनका लागि सूचना निकालिने समितिका सदस्य सचिव तथा काठमाडौँ महानगरपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए।
विवादमा रहेको रानीपोखरी पुनःनिर्माण प्रताप मल्लकालीन शैलीमै गर्ने निर्णय गर्दै गत पुस १३ गते विशेषज्ञ समिति निर्माण गरिएको थियो। सो समितिलाई प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको थियो।
यसैबीच, पुनर्निर्माण गर्दा प्राचीन स्मारक ऐनविपरीत थालिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र दर्ता गरिएको छ। सम्पदाप्रेमीहरुले महानगरपालिका र पुरातत्व विभागमाथि छानबिन गर्न माग गर्दै पत्र दर्ता गराएका हुन्।
महानगरपालिकाले कंक्रिट प्रयोग गरी पर्खाल लगाउँदा पनि पुरातत्व विभाग मौन रहेको पत्रमा उल्लेख छ।
२०७२ बैसाख १२ को भूकम्पले ऐतिहासिक रानीपोखरी र बालगोपालेश्वर मन्दिरमा क्षति पुगेको थियो। क्षतिग्रस्त पोखरी पुनः निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि कंक्रिट हालेर पुनर्निर्माण थालिएको भन्दै सम्पदाविद्ले विरोध गरेपछि काम अघि बढ्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।