काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा मुलुकबाट गरिबी र बेरोजगारी अन्त्य गर्ने दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीले मुलुकमा विद्यमान गरिबी र बेरोजगारी अन्त्यका लागि मिलेर काम गर्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई पनि आग्रहसमेत गरेका छन्। आईतबारबाट काठमााडैंमा सुरु भएको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मैले गरेका राम्रा कामको चर्चा नगर्दा हुने तर सुन्दर, सुरक्षित र समृद्ध नेपाल बनाउन भने सबै लाग्नुपर्ने पनि स्पष्ट पारे।
'गरिबी र बेरोजगारीको सामना प्रतिपक्ष/सत्तापक्ष दुवैले गरिरहनु परेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि मिलेर काम गर्न प्रमुख प्रतिपक्ष काँग्रेस पनि तयार हुनुपर्छ। हामीले गरेका राम्रा कामको चर्चा नगरिदिए हुन्छ। तर देशका लागि, भोलिका सन्ततिका लागि भने सबैले आ–आफ्नो ठाउँबाट सकेको योगदान दिनुपर्ने बेला आएको छ,' उनको भनाइ थियो।
प्रधानमन्त्री ओलीले शिक्षालाई जीवन उपयोगी बनाएर मुलुकमा गरिवी अन्त्य गर्ने र रोजगारीको अवसृर सृजना गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गरे।
सरकारले आवश्यक जनशक्ति निर्माण हुने गरी शिक्षण संस्थाहरुको स्थापना गर्ने पनि प्रधानमन्त्री ओलीको योजना छ।
'मुलुकमा रोजगारीको अवसर सृजना गर्न कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासमा विशेष जोड दिइएको छ,' प्रधानमन्त्री ओलीले भने।
कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुक भित्रै रोजगारीको अवसर अधिकतम सृजना गर्न र बैदेशिक रोजगारलाई व्यवस्थित बनाउन आवश्यक सुझाव संकलन गर्ने उद्देश्यका साथ सो सम्मेलन आयोजना गरिएको स्पष्ट पारे।
२ दिनसम्म चल्ने सम्मेलनमा विज्ञहरुले रोजगारीको अवसर सृजना हुने खालका विभिन्न क्षेत्रका पहिचानसहितको कार्यपत्र प्रस्तुत गर्ने पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।