काठमाडौं– सुन तस्करीको आरोपमा पछिल्लो ५ महिनामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक सय ३१ जना पक्राउ परेका छन्। उनीहरुबाट १५ किलो ५ सय २८ ग्राम सुन बरामद गरेको छ।
विमानस्थलस्थित भन्सार कार्यालयका अनुसार पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिकहरु समेत छन्। नेपालीहरु थोरै परिणामको सुनसहित पक्राउ पर्ने गरेका छन् । चिनियाँहरु धेरै परिणाममा सुनसहित पक्राउ पर्दै आएको प्रमुख भन्सार अधिकृत नारायण सापकोटाले बताए। पछिल्लो एक महिनामा दुई चिनियाँ महिलालाई भन्सार कर्मचारीले ५ किलो सुनसहित पक्राउ गरेको थियो।
पक्राउ पर्नेहरु कतिपय बैदेशिक रोजगारीबाट फर्किएकाहरु समेत हुने गरेका छन्। ५० ग्रामभन्दा धेरै सुन ल्याउन नपाउने नियम थाहा नभएर पनि कतिपय विमानस्थलमा पक्राउ पर्दै आएका छन्। पक्राउ परेकामध्ये अधिकांश भने सुन तस्करीमै संलग्न व्यक्तिहरु भएको भन्सार कार्यालयले जनाएको छ। स्करीमा संलग्न केही समूहले कतार, यूएई लगायत देशबाट फर्कने कामदारलाई आर्थिक प्रलोभनमा पारेर समेत सुन तस्करी गराउदै आएका छन्। २÷४ हजारको लोभमा फस्दा कामदारहरुले हिरासतमा पर्नुका साथै लाखौं गुमाउने गरेका छन्।
केही धनाढ्य व्यक्तिहरु पनि भन्सारसम्बन्धि कानुन थाहा नहुँदा पनि पक्राउ पर्दछन्। बिदेश जाँदा धेरै सुनका गहना किनेर ल्याउदा कतिपय विमानस्थलमा पक्रने गरेका छन्।
त्यस्तै साउनयता प्रहरी र भन्सार कार्यालयले ३७ किलो सुनसहित १९ जनालाई पक्राउ गरी कारबाही गरेको छ।
आर्थिक वर्ष २०७३÷७४ मा एयरपोर्टमा २७ किलो १ सय ५३ ग्राम सुन बरामद गरेको थियो। गत वर्ष २ सय १९ जना सुन तस्करीको आरोपमा पक्राउ परेका थिए। त्यस्तै ८६ किलो चाँदीसहित ४ सय ३४ जना गत वर्ष विमानस्थलमा कारबाहीमा परेको भन्सार कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।