काठमाडौं– दसवर्षे सशस्त्र द्वन्द्वकालमा बेपत्ता भएकाहरुको अवस्था छानबिन गर्न गठित आयोगले उजुरीमा अनुसन्धान नै नगरी मृतक घोषणा गर्दै परिवारलाई जानकारी गराउन थालेको छ।
आयोगले सल्यान जिल्लाका धनबहादुर हमालको परिवारलाई द्वन्द्वकालमा बेपत्ता भएको नभई मृत्यु भएको भन्दै उक्त उजुरी अर्को आयोग सत्य निरुपण तथा मेलमिलाप आयोगका पठाएपछि यस्तो तथ्य खुलेको हो।
हमालको परिवारले घरबाटै अपहरण गरी राज्य पक्षले लगेको र हालसम्म कुनै पनि जानकारी नपाएकाले अनुसन्धान गर्न माग गर्दै बेपत्ता आयोगमा गत बैशाखमा उजुरी हालेको थियो। पीडितको उक्त उजुरीपछि अनुसन्धान नै नगरी आयोगले हत्याको घटना आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै अर्को आयोगमा उजुरी पठाएको हो।
बेपत्ता छानबिन आयोगले त्यस प्रकृतिका झन्डै ४ सय फाइल सत्य निरुपण आयोगमा पठाएको थाहा पाए लगत्तै ‘द्वन्द्वपीडितहरुको साझा चौतारी’ नामक संस्थाले आयोगको कामप्रति आपत्ति जनाएको छ।
अनुसन्धान गर्ने अधिकार पाएको आयोगले अध्ययन नै नगरी अन्य तथ्यांकको भरमा हत्या भएको भनी अन्यत्र फाइल पठाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको संस्थाले जनाएको छ। आयोगले शान्ति मन्त्रालय र इन्सेकको तथ्यांकमा मृतकको सूचीमा राखिएको भन्दै फाइलहरु सत्य निरुपणमा पठाएको थियो।
‘घरको मूली बेपत्ता हुँदा सन्ततिको नागरिकता सिफारिस, घरजग्गा नामसारी लगायतका व्यवहारिक समस्याहरु भोग्दै आएका छन्’, चौतारीको विज्ञप्तिमा भनिएको छ, ‘तर कुनै सत्यतथ्य पत्ता नलगाई बिनाआधार मृत्युमा दर्ता गरेका कैयौं परिवारजनले अझै पनि लास नपाएर काजक्रिया समेत गरेका छैनन्।’
पीडित परिवारजनले सत्य–तथ्य अनुसन्धान गरी सार्वजनिक होस् भन्ने अपेक्षासहित बेपत्ता छानबिन आयोगमा उजुरी दिए पनि उक्त कार्य आयोगबाट हुन नसकेको चौतारीले जनाएको छ।
‘आयोगले परिवारजनले दिएको उजुरी उपर गहन अनुसन्धान नै नगरी हत्या ठहर गर्नु आयोगको गैरजिम्मेवारपन र बेपत्ताको मुद्दामा असंवेदनहीनता हो’, विज्ञप्तिमा भनिएको छ, ‘बेपत्ता पारिएका व्यक्तिको सास वा लास माग गरिरहेका परिवारजनलाई हत्या ठहर भएको अवस्थामा समेत हत्या कहाँ, कसरी, कहिले, किन भएको भन्ने यथार्थ जानकारी गराउनु आयोगको दायित्व हो।’
चौतारीका अध्यक्ष सुमन अधिकारीले जारी गरेको विज्ञप्तिमा तत्काल उक्त उजुरीहरुमाथि अनुसन्धान थाल्न माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।