काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक र औद्योगिक बनाउन अपिल गरेका छन्।
आज राष्ट्रिय धान दिवसको अवसरमा सम्पूर्ण किसानहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादन र उत्पादकत्व बढाउन आवश्यक रहेको बताएका हुन्।
'कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक र औद्योगिक बनाऔं। कृषिलाई आधुनिकीकरण गर्ने सरकारको कार्यक्रम छ, यसलाई सफल पारी उत्पादन र उत्पादकत्व बढाऔँ,' ट्विटमार्फत दिएको शुभकामना सन्देशमा भनिएको छ।
'मानो रोपेर मुरी उब्जाउने' महिनाको सुरुवात अर्थात् असार १५ गतेका दिन, आज नेपालभर धान दिवस अर्थात रोपाइँ यात्रा मनाइँदै छ।
कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती छ। किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।
मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही-चिउरा खान्छन्। यसबेला दही-चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही-चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही-चिउरा खाई असार १५ मनाउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।