काठमाडौं- राजनीतिक दलहरुले प्राथमिकताको क्रम उल्लंघन गर्दै प्रदेशसभातर्फको समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाएको खुलेको छ।
समूह छुट्याएर क्रम अनुसार निश्चित संख्या राख्न कानुनमै व्यवस्था गरिए पनि दलहरुले प्राथमिकताको क्रम उल्लंघन गर्दै प्रदेशसभा समानुपातिकको नामावली निर्वाचन आयोगमा पेश गरेको पाइएको हो।
आयोगका प्रवक्ता दिनेश घिमिरेले दलहरुले बुझाएको सूची हेर्दा प्राथमिकताको क्रम र समूह नमिलेको पाइएको बताए। ‘प्रारम्भिक रुपमा छानबिन गर्दा दलहरुले क्रम र समूह नमिलाएर पठाएको देखिन्छ,’ उनले भने, ‘महिला हुनुपर्नेमा पुरुष, दलित हुनुपर्नेमा थारुको नाम राखेर दलहरुले समूह नमिलाएर पठाएका छन्।’
कानुनविपरीत दलहरुले समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाएपछि त्यसबारे आवश्यक निर्णय गर्न आयोग पदाधिकारीको बैठक आज बस्दैछ।
बैठकले प्राथमिकताको क्रम र समूह नमिलेका दलहरुलाई निर्वाचन आयोगमा बोलाएर सिफारिस नामहरु सच्याउन समय दिइने सहसचिव समेत रहेका प्रवक्ता घिमिरेले बताए।
दलहरुले सूची सच्याएर बुझाएपछि आयोगले आवश्यक अध्ययन गरेर प्रदेशसभाको समानुपातिकतर्फको सांसदहरुको घोषणा गर्नेछ।
आगामी २१ गते भित्र प्रदेश सांसदको नाम घोषणा गर्ने तयारी आयोगले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।