काठमाडौं- एमाले र माओवादी केन्द्रका विद्यार्थी तथा युवा संगठनले प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक गर्न भइरहेको ढिलाइमा निर्वाचन आयोगको भूमिकाप्रति गम्भीर आशंका व्यक्त गरेका छन्।
एमाले र माओवादीका विद्यार्थी संगठन र युवा संघले सोमबार दिउँसो प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई भेटेर जतिसक्दो चाँडो नयाँ सरकार गठनको बाटो खोल्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन्।
भारतीय योजना र नेपाली कांग्रेसको निर्देशनमा वाम गठबन्धन फुटाउने, नयाँ सरकार बन्न नदिने र मुलुकलाई अस्थिरतातर्फ धकेल्न विभिन्न शक्तिहरु लागिरहेको अवस्थामा निर्वाचन आयोगले नै निर्वाचनको परिणाम सार्वजनिक गर्न ढिलाइ गरेको उनीहरुको भनाइ थियो। यसबाट गम्भीर आशंका पैदा भएकाले चाँडै मतपरिणामा सार्वजनिक गर्न उनीहरुले माग गरे।
संघीय संसदको राष्ट्रियसभामा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था निर्वाचन ऐनले गरेको भन्दै ती संगठनले तत्काल प्रतिनिधिसभाको सिट बाँडफाँट गर्न निर्वाचन आयोगसँग माग गरेका छन्।
प्रमुख निर्वाचन आयुक्त यादवलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, आयोगले महिलाहरुको प्रतिनिधित्वको विषयलाई लिएर दलीय झमेला झिक्ने विषय गलत मनसायद्वारा उत्प्रेरित भएको आशंका गर्न सकिन्छ। संविधानको मक्सद, भावना र स्पिडलाई हामी सबैले बुझ्न जरुरी छ। तसर्थ संविधानको पूर्ण कार्यान्वयनमा ल्याई वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न, मुलुकलाई नयाँ सरकार गठन प्रक्रिया अगाडी बढाउन आयोगसंग हाम्रो जोडदार माग छ।'
वाम विद्यार्थी तथा युवा संगठनले आयोगको काम ढिलासुस्ती हुँदै जाने र वर्तमान सरकारको आयु लम्ब्याउँदै मुलुकलाई अस्थिरता र गतिहीनतातर्फ लैजाने प्रपञ्च आफूलाई मान्य नहुने भन्दै कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन्।
प्रमुख आयुक्त यादवलाई ज्ञापनपत्र बुझाउन एमालेको युवा संघ नेपाल र विद्यार्थी संगठन अनेरास्ववियु तथा माओवादी केन्द्रको वाइसिएल र अनेरास्ववियु क्रान्तिकारीका नेता आयोग केन्द्रीय कार्यालय कान्तिपथ पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।