काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जननेता मदन भण्डारीको हत्या नियोजित भएको बताएका छन्।
जननेता मदन भण्डारीको ६७औं जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।
'भण्डारीको हत्या नियोजित नै हो। हत्यारा किटेर भन्न सकिएको आज पनि छैन,' उनले भने, 'शंका विभिन्न तत्वमाथि लाग्छ। तर, हत्यारा को हो त? जीवित साक्षीलाई पनि हत्या गरेपछि झन् अनुसन्धानको बाटो रोकियो।'
नेपालका ठूला हत्याकाण्डका हत्यारा पत्ता लगाउन नसकिएको उनको भनाइ थियो। आफू प्रधानमन्त्री हुँदा नै दरबार हत्याकाण्डको दोषी पत्ता लगाउने सोचेको तर पूरा गर्न नसकेको उनले उल्लेख गरेका थिए।
'हामी मारिन पनि सक्छौं, यो विचारणीय छ। भण्डारीको हत्यारा पत्ता नलाग्दा त्यस्तो अवस्था नआउला भन्न सकिन्न,' उनले भनेका थिए।
जनताको जनवाद नै अहिलेको पार्टी निर्माणको आधार भएको बताएका प्रचण्डले यो विचार समान हुन नसके गम्भीर अवस्था आउने चेतावनी समेत दिए। 'पार्टी एकता सफल भएन भने देश खतरामा पर्छ। नेकपा फुटेर काँग्रेस आउने सम्भावना पनि छैन,' उनको भनाइ थियो।
मदन भण्डारी ठोस वस्तुलाई ठोस विश्लेषण गर्ने व्यक्ति भएको उनको भनाइ थियो। 'भण्डारी संकीर्ण हुनुहुन्नथ्यो। समयअनुसार नीति परिवर्तन गर्ने भण्डारीले जनताको बहुदलीय जनवादको मार्ग निर्देशन सिद्धान्त बनाउनु भयो,' उनले भने, 'अब पार्टीमा आग्रह पूर्वाग्रह राख्न जरुरी छैन। अब सबै संकीर्णता छोड्नु पर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।