काठमाडौं- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्दै अघि बढेको आरोप लगाएका छन्।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले शनिबार राजधानीमा गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान सरकारले कर्मचारी प्रशासनमा अनावश्यक हस्तक्षेप गर्नुको साथै प्रेस स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको बताए।
'सरकार जुनसुकै क्षेत्रमा अत्यधिक कर बढाएर जनतालाई सास्ती दिने काम सरकारले गरिरहेको छ। राष्ट्र र प्रजातन्त्रका लागि सबैभन्दा ठुलो अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गरेर सरकारले लोकतन्त्र कमजोर बनाउने प्रयास गरेको छ,' उनले भने।
सभापति देउवाले जनतालाई कुनै पनि प्रकारको कर नथप्ने सुनकोशी गाउँपालिकाको निर्णयको स्वागत गरे। कार्यक्रममा भारतीय सांगीतिक कार्यक्रम सारेगमपका तेश्रो विजेता नेपाली बालक आयुष केसीलगायत विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।