बनियानी- झापाको हल्दिबारी गाउँपालिकाले हात्ती नियन्त्रणका लागि विभिन्न योजना अघि सारेको छ।
गाउँपालिकाले हात्ती नियन्त्रणका लागि जलथलको जंगल क्षेत्रमा बाटो, कुलो निर्माणका साथै विद्युतीय तारबार जडानको तयारी गरेको छ। हात्तीले बर्सेनि लाखौँ मूल्यको धनमालसँगै मानवीय क्षतिसमेत पुर्याउँदै आएकाले नियन्त्रणका उपाय अवलम्बन गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले बताए।
उनका अनुसार हात्ती नियन्त्रणका लागि रु ४५ लाख विनियोजन गरिएको छ। रु १८ लाखको लागतमा विद्युतीय तारबार, जंगल क्षेत्रभित्र बाटोसँगै कुलो निर्माणका लागि रु २७ लाख रकम विनियोजन गरिएको छ।
'कुलो निर्माणपछि हात्ती नियन्त्रणको काम थप प्रभावकारी हुनेछ,' उपाध्यक्ष गिरीले भने, 'हरेक वर्ष हात्तीको समस्या झेल्दै आएको यो क्षेत्रका एक हजार घरधुरीको संरक्षणका लागि गाउँपालिका अग्रसर भएको छ।'
जंगलमा निर्माण गरिने बाटोमा विद्युत् विस्तार गरेर वन क्षेत्रलाई झलमल्ल बनाउने कार्य भइरहेको छ। गाउँपालिकाले हात्ती निणन्त्रणका लागि योजना अघि सारेपछि स्थानीयवासी खुसी भएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।