नेपालगन्ज- यहाँस्थित माइती नेपाल क्षेत्रीय कार्यालयमा आफ्ना चेलीबेटी खोजी गर्न बर्सेनि सयौँको संख्यामा निवेदन पर्ने गरेका छन्।
माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार विगत १६ वर्षको अवधिमा ४ हजार ३१८ जनाले आफ्ना चेलीबेटी खोजिदिन संस्थामा निवेदन दिएका छन्। यो वर्ष मात्र संस्थामा ८३४ वटा उजुरी परेको छ।
निवेदनका आधारमा खोजतलास गर्ने क्रममा अहिलेसम्म ६१९ जनालाई मात्र फेला पार्न सकिएको छ भने बाँकी हराएकाको अवस्था अज्ञात नै रहेको छ।
संस्थाले सार्वजनिक गरेको तथ्यांकअनुसार, हराएका चेलीमध्ये अधिकांशको उद्धार भारतका विभिन्न सहरबाट गरिएको छ। नेपालबाट लगिएका अधिकांश चेली यौन व्यवसायमा संलग्न गराइने संयोजक कोइरालाको भनाइ छ।
नेपालका विभिन्न सहरबाट दलालले राम्रो रोजगार दिने भनेर नेपाली चेलीलाई भारत र खाडी मुलुक पुर्याउने गरेका छन्। चेलीबेटी बेचबिखनमा महिला दलाल पनि संलग्न रहेको जनाइएको छ।
माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्यांकअनुसार, विगत १६ वर्षको अवधिमा उद्धार गरिएका चेलीमध्ये १७२ जनालाई सिपमूलक तालिम दिएर रोजगारमा संलग्न गराइएको छ।
'चेलीबेटी बेचबिखनका विषयमा सरकार, यहाँका राजनीतिक दल र नागरिक समाज खासै संवेदनशील नहुँदा यो समस्याले बर्सेनि विकराल रुप लिँदै गएको छ,' संयोजक कोइरालाको भने।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।