काठमाडौं– राजश्व अनुसन्धान विभागले मेची भन्सार कार्यालयबाट एउटा ब्रान्ड देखाएर अर्को सामान पैठारी गर्ने दुई व्यापारीविरुद्ध ४ करोड ६४ लाख ६३ हजार विगो र ३ वर्ष कैद दाबी गर्दै मुद्दा दायर गरेको छ।
विभागले सागर एन्ड साधना विजनेस प्रालिका सञ्चालक लिलाबहादुर घिमिरे र गंगाबहादुर घिमिरेविरुद्ध काठमाडौ जिल्ला अदालतमा राजश्व चुहावटको मुद्दा दायर गरेको हो। विभागले भन्सार एजेन्ट दिपेन्द्रराज पाण्डेलाई पनि घिमिरे सरहको सजाय माग गर्दै मुद्दा दायर गरेको छ।
राजस्व चुहावट गर्ने कार्यमा पाण्डेले भन्सार एजेन्टको प्रतिनिधि भई काम गरेको भन्दै उनलाई पनि ४ करोड रुपैयाँ बराबर जरिवाना र ३ वर्ष कैदको सजाय गर्न विभागले माग गरेको छ।
मेची भन्सार कार्यालयबाट ख्याति प्राप्त ब्रान्डका मालवस्तुहरुलाई सामान्य ब्रान्डका र अर्कै मालवस्तु भनि पैठारी गरी २ करोड ३२ लाख २१ हजार ५ सय ८९ रुपैयाँ ६० पैसा बराबरको सामान यसरी पैठारी गरेको विभागको आरोपपत्रमा उल्लेख छ। विभागले विगोको दोब्बर जरिवाना र ३ वर्ष कैद माग गरेको छ।
चीनमा उत्पादन भएको दाबी गर्दै उनले फ्ल्याट जुत्ता र स्पोर्ट्स जुत्ता पैठारी गरेको विभागको अनुसन्धानमा पाइएको थियो। उक्त जुत्ताहरु इन्डोनेसिया, भियतनामको नाम नै उल्लेख नगरी पैठारी गरेको विभागको आरोपपत्रमा उल्लेख छ।
पैठारीकर्ताले मालवस्तु पैठारी गर्दा भन्सार बिन्दुमा कुनै नाम उल्लेख नगरिएका जुत्तामा ख्यातिप्राप्त ब्रान्डहरु रिबुक, एडिडास, फिला, नर्थफेस, नाइक, पुमालगायत बान्डका जुत्ता फेला पारिएको थियो।
राजस्व चुहावट गर्ने दुरासय राखी मालसामानको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, गुणस्तर एवं मालवस्तुको उत्पत्तिको मुलुकसमेत फरक पारी यथार्थ कारोबार मूल्यभन्दा न्यून मूल्य घोषणा गरी पैठारी गरेको विभागको आरोपपत्रमा उल्लेख छ।
यसरी मालवस्तुको भौतिक विशेषता, गुणस्तर फरक पारी राज्यलाई बुझाउनुपर्ने कर छल्ने प्रपन्च रचेको देखिएको भन्दै फर्मका सञ्चालक घिमिरेद्धयलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार कारबाहीको माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।