काठमाडौं- सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्राधिकरणकै निमित्त महानिर्देशक राजन पोखरेललाई नियुक्ति गरेको छ।
जेठ १२ गते आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर सञ्जिव गौतमको अवकाश भएसँगै प्राधिकरणको महानिर्देशक पद रिक्त थियो।
रिक्त पदमा मन्त्रिपरिषद्को बिहीबारको बैठकले पोखरेलाई नियुक्ति गरेको हो। पोखरेलले नियुक्तिको पत्र भने शुक्रबार मात्रै बुझेको जानकारी दिए।
पोखरेल २०४७ साल मंसिरदेखि यही क्षेत्रमा काम गर्दै आएका थिए। तत्कालिन समयको हवाई विभागबाट उनले सेवा सुरु गरेका थिए।
पत्र बुझेपछि नेपाल लाइभसँगको संक्षिप्त कुराकानीमा पोखरेलले नेपाली वायुसेवा कम्पनीहरुलाई युरोपेली देशमा लागेको उडान प्रतिबन्ध (सुरक्षा चासो सूची)बाट फुकुवा गर्ने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने कार्य आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए।
योसँगै महानिर्देशक पोखरेलले निर्माणाधीन पोखरा क्षत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु गर्ने जनाए। साथै पछिल्लो समय हवाई उडान सुरक्षामा देखिएको समस्याको विषयमा दिर्घकालीन समाधान खोजिने उनले बताए।
को हुन् पोखरेल?
पोखरेल २०४७ सालमा तत्कालीन हवाई सेवा विभागअन्तर्गत एयर ट्राफिक सेवाको राजपत्राकिंत तृतिय श्रेडी पदबाट सेवामा प्रवेश गरेका थिए।
त्यसपछि सन् १९९८ मा हवाई विभाग नेपाल नागरिक उड्डयन प्राधिकरकणमा रुपान्तरण भएका थिए।
विमानस्थल म्यानेजमेन्ट, अपरेसन विभाग, हवाई सुरक्षा, उडान सुरक्षा, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) सम्बन्ध, हवाई कानुन विभागका प्रमुख हुँदै पछिल्लो सयम हवाई सुरक्षा निर्देशनालयका प्रमुख तथा निमित्त महानिर्देशकको रुपमा काम गरिरहेको थिए।
साथै पोखरललेको नेतृत्वमा नै आइकाओको कालो सूचीबाट नेपाललाई हटाउने काम भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।