काठमाडौं– अनियन्त्रित अभिव्यक्तिका कारण निरन्तर विवादित बन्दै आएको इटहरीका मेयर द्वारिकलाल चौधरीलाई कारबाही गर्न सांसदहरुले माग गरेका छन्। पछिल्लो समय महिलालाई लक्षित गरेर अशिष्ट अभिव्यक्ति दिएको भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडदेखि नेकपा सांसद बिन्दा पाण्डेसम्मले मेयरलाई कारबाही गर्न माग गरेका हुन्।
कुनै पनि नागरिकलाई अपहेलित गर्ने अधिकार नभएको भन्दै सांसद खाँडले यथाशिघ्र कारबाहीको माग गरे। उनले भने, ‘नारी हाम्री माता हुन्। उनीहरुको अपमान गरिएको छ। संघीय सरकार यसमा गम्भीर बनोस्।’
नेकपा सांसद बिन्दा पाण्डेले पनि उनको अभिव्यक्तिलाई लक्षित गर्दै संसद्मा सवाल उठाइन्। मतदाताहरुले मतदान गर्दा आफ्नो प्रतिनिधिप्रति ठूलो आशा र अपेक्षा हुने भन्दै केही जनप्रतिनिधि यसमा चुकेको उनको भनाइ छ। पाण्डेले भनिन्, ‘आफ्नो प्रतिनिधीमाथि गर्व गर्न पाइयोस् भन्ने सबैको चाहना हुन्छ। तर, संघीयदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिका बोली अशिष्ट मात्र होइन, अपराधपूर्ण हुन थालेका छन्।’
उनले गल्तिअनुसार सबैलाई कारबाही हुन्छ भन्ने सन्देश दिन पनि त्यस्ता व्यक्तिमाथि यथाशीघ्र कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन्।
यसैगरी सांसदद्वय सीतादेवी यादव र लक्ष्मी परियारले पनि मेयर चौधरीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यथाशीघ्र कारबाहीको माग गरे। सांसद परियारले प्रश्न गरिन्, ‘इटहरीका मेयरको अहमता केका लागि हो? महिलामाथि अपमानजनक भाषा प्रयोग गर्दा किन केही गरिँदैन। के उनलाई डामेर छाडिएको हो?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।