काठमाडौं- मुलुकले अवलम्बन गर्नुपर्ने परराष्ट्र नीतिका सम्बन्धमा देशभित्र साझा दृष्टिकोण तयार पार्ने उद्देश्यले आयोजना गर्न लागिएको राष्ट्रिय संवाद भोलि हुने भएको छ।
सरकारले परराष्ट्र नीतिका सम्बन्धमा पहिलो पटक आयोजना गर्न लागेको राष्ट्रिय संवादको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।
परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए)ले आयोजना गर्न लागेको उक्त कार्यक्रम काठमाडौँको नागपोखरी, नक्सालस्थित काठमाडौँ म्यारियट होटलमा बिहान पौने ९ बजे उद्घाटन हुनेछ।
कार्यक्रम नेपालका राजनीतिक दलहरू, परराष्ट्र मामिला क्षेत्रमा अध्ययन अनुसन्धानरत संस्थाहरू एवं परराष्ट्र मामिला विज्ञहरू सहभागी हुनेछन्। उक्त संवादको उद्घाटन सत्र १ घन्टा चल्नेछ। उक्त सत्रलाई प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले सम्बोधन गर्नेछन्।
कार्यक्रमममा मुख्यतया ४ वटा विषयमा छलफल हुनेछ। प्रतिष्ठानका सूचना अधिकारी सानुराज पुरीका अनुसार कार्यक्रममा 'परिवर्तित भू-राजनीति : छिमेकी र मुख्य शक्ति राष्ट्र', 'आर्थिक कूटनीति : अभिमुखीकरण र प्राथमिकता', 'बहुपक्षवादको रक्षा तथा क्षेत्रीय सहयोगको प्रवद्धन' र 'जलवायु परिवर्तन तथा श्रमिक प्रवासन' गरी ४ विषयमा अन्तरक्रिया हुनेछ।
दुई सत्रमा परराष्ट्रमन्त्री ज्ञवाली, १ सत्रमा अर्थमन्त्री युवराज खतिवडा र अर्को १ सत्रमा पूर्वपरराष्ट्र मन्त्रीहरु नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादवलगायतको प्रस्तुति रहनेछ।
रक्षासम्बन्धी सत्रमा रक्षा मामिलाका जानकार, नेपाली सेनाका पूर्व र वर्तमान जर्नेलहरुले पनि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको पुरीले जानकारी दिए।
नेपाली पाहुना मात्रै बोलाइएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका करिब २ सयभन्दा बढी विज्ञबीच छलफल हुनेछ। छलफलले निकालेको निचोड सरकारलाई बुझाइने पुरीले जानकारी दिए।
उक्त संवादले संविधानको मर्म एवं भावनाअनुरूप अहिलेको विश्व परिवेशलाई सुहाउँदो परराष्ट्र नीति निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।