काठमाडौं–अंग्रेजी नयाँबर्सको पूर्वसन्ध्यानमा राजधानीको मुख्य पर्यटकीय केन्द्र ठमेल र दरबारमार्ग रातभरी नै खुल्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले ठमेल र दरबारमार्ग क्षेत्रका रेष्टुरेन्ट तथा डिस्कोहरुलाई बिहान ४ बजेसम्म खोल्न अनुमती दिएको हो।
४ बजेसम्म खोल्ने अनुमती दिएपछि प्रहरीले बिशेष सुरक्षा रणनीति बनाएर कार्यान्वायन सुरु गरेको छ। ठमेल र दरबारमार्ग क्षेत्रमा थप प्रहरी परिचालन गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। सामान्य अवस्थामा रेष्टुरेन्टहरु १२ बजे र डिस्कोहरु २ बजेसम्म संचालन हुँदै आएका थिए।
४ बजेसम्म खोल्न दिने निर्णय भएको र कुनै नराम्रो घटना हुन नदिन आफुहरुले सुरक्षा योजना बनाएको महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दीपक पोखरेलले बताए। मदिरा पिएर हो हल्ला गर्नेहरुलाई पक्राउ गर्न निर्देशन दिइएको छ। त्यस्तै लागूऔषधको सेवन समेत हुनसक्ने भएकाले सादा पोशाकमा समेत प्रहरी खटाइएको छ। मदिरा सेवन गरी झै झगडा हुन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्ने प्रहरीको योजना छ। डिस्कोहरुमा क्षमता भन्दा धेरै व्यक्तिलाई प्रबेश नगराउने प्रहरीले निर्देशन दिइएसकेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि बिशेष चेकिङ गर्ने जनाएको छ। मदिरा सेवन गरेर सवारी चलाउने र दुर्घटना हुनसक्ने भएकाले त्यसलाई रोक्न दरबारमार्ग, पुतलीसडक, जमल, लैनचौर, नयाँबजार लगायत क्षेत्रमा बिहानैसम्म मापसे चेकिङ गरिने महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।