काठमाडौं– केही सातायता काठमाडौं उपत्यकामा फैलिँदै गएको 'सिरिन्ज आक्रमण'मा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर र अपराध महाशाखाको विशेष टोलीले ३० वर्षीय सन्तोष कार्कीलाई गएराति पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पीडितहरुले सिरिन्ज जस्तो तिखो वस्तुले घोपेको बताए पनि कार्कीले प्रहरीसँग ढलानको किला रोपेको बयान दिएका छन्। उनलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।
उनले बयानमा भनेका छन्, ‘किला रोपेको हुँ। त्यो पनि युवतीलाई मात्रै। किला रोप्दा मजा आउने भएकाले रोपेँ।’ प्रहरीसँगको बयानमा उनले अहिलेसम्म ६ जना युवतीलाई किला रोपेको बताएका छन्।
यसरी समातिए कार्की
कार्कीले युवतीहरुलाई सुइरो रोपेको भिडियो सिसी टिभी फुटेजमा फेला परेको थियो। उक्त घटनाको महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गम्भीर रुपमा अनुसन्धान गरिरहेको थियो। सोही क्रममा उनको मोटरसाइकल समेत सिसी टिभी फुटेजमा देखियो।
बा ४७ प १३३१ नम्बरको मोटरसाइकलमा चढेर उनले सुइरो रोपेका थिए।

तर प्रहरीले प्राप्त गरेको सिसी टिभी फुटेजमा बाइक नम्बर प्रस्ट थिएन। निलो पल्सर बाइक देखिन्थ्यो। बाइकको लेगगार्डभन्दा माथि पेट्रोल ट्यांकीको साइडमा रातो स्टिकर र पछाडिको नम्बर प्लेटमुनि पनि एउटा स्टिकर टाँसिएको देखिन्थ्यो।
सूक्ष्म निगरानी गरेको प्रहरीले बिहीबार साँझ महाराजगन्ज भाटभटेनीअगाडि सोही संकेत भएको मोटरसाइकल फेला पारेको थियो। तर पछाडिको स्टिकर भर्खरै निकालेजस्तो टाटो भने प्रस्ट देखिन्थ्यो। अगाडिको रातो स्टिकर भने प्रस्ट थियो।
सोही आधारमा मोटरसाइकल कुरेर प्रहरी बसेको थियो। रेस्टुरेन्ट बन्द गरी उनी मोटरसाइकल लिन आएपछि प्रहरीले उनलाई उक्त घटनाबारे साधेको थियो। प्रहरीले भिडियोसमेत देखाएपछि उनले ढाँट्न सकेनन्। 'आफ्नो गल्ती सहजै स्वीकार गरेपछि पक्राउ गरेका हौं,' अपराध महाशाखाका डिएसपी रुगम कुँवरले भने।
कहिले कहिले रोपियो सुइरो?
महाराजगन्जमा रहेको आफ्नो रेस्टुरेन्ट बन्द गरेर उनी राति १० बजेतिर आफू बस्ने ठाउँ नैकापतिर फर्कन्थे। फर्कने बेला उनको रुट हुन्थ्यो सोह्रखुट्टे, क्षेत्रपाटी, पकनाजोल, टंकेश्वर। सोही रुटमा देखापर्ने युवतीहरु उनको टार्गेटमा पर्थे। युवतीहरु देखेपछि आफू उत्तेजित हुने गरेकाले तिखो वस्तु रोप्दै आएको उनले बयान दिएका छन्।
सुरुमा कार्कीले गत चैतको अन्तिम साता तिखो वस्तु रोपेको अनुसन्धानबाट खुलेको छ। उनले सुरुमा गाडीको टायरमा हुने तार युवतीको शरीरमा रोपेको बताएका छन्।
चैत अन्तिम साताबाट यसखाले आक्रमण गर्न थालेका उनले त्यसपछि बैसाख १५ गते फेरि युवतीलाई सुइरो रोपेका थिए। त्यसपछि बैसाख २९, जेठ १८ र जेठ २० गते पनि उनको निसानामा युवती नै परे।
जेठ २० गते उनले जुन युवतीमाथि आक्रमण गरेका थिए, ती युवतीलाई कार्कीले चैत अन्तिम साता पनि तिखो वस्तु प्रहार गरेको डिएसपी कुवँरले नेपाल लाइभलाई जानकारी दिए।
यसरी उनको टार्गेटमा एकै युवती दुईपटकसम्म परेको पाइएको हो।
जेठ ३० र ३२ गते उनले अन्तिम पटक सुइरो रोपेका थिए। त्यसपछि विभिन्न सञ्चारमाध्यममा सामाचार आएपछि भने आफूले त्यस्तो कार्य छाडेको उनले बताएका छन्। उनले सुइरो रोप्न छाडेको आज १३ दिन भएको बताएका छन्। उनको बयान उद्धृत गर्दै डिएसपी होबिन्द्र बोगटीले भने, ‘यसरी भाइरल हुन्छ र पक्राउ पर्छु भन्ने लागेकै थिएन। कुनै रोग सार्नेभन्दा पनि रमाइलो लाग्ने भएकले रोपेको हुँ।’
कार्कीले प्राय युवतीको कम्मर, छाती र हिपमा सुइरो रोपेको पाइएको छ। हाफपेन्ट र छोटा कपडा लगाउने युवती नै उनको निसानामा पर्दै आएको प्रहरीले बताएको छ।
उनी श्रीमतीसँगै बाइकमा रहँदा पनि युवतीलाई सुइरो रोप्ने गरेको अनुसन्धानबाट खुलेको छ।
को हुन् पक्राउ परेका कार्की?
रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भएका कार्की १२ वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएका व्यक्ति हुन् । कार्कीले भगवती मावि खाँडादेवीबाटै २०६० सालमा सेकेन्ड डिभिजनमा एसएलसी पास गरेका थिए।
त्यसपछि उनी अध्ययनका लागि भन्दै काठमाडौं प्रवेश गरेका थिए। काठमाडौं क्याम्पस ताहचलमा भर्ना भएका उनले कक्षा ११ को परीक्षा भने दिएनन्। त्यसपछि गोदावरीस्थित भ्यू भ्याली होटलमा वेटरको काम गर्न थालेका थिए। उक्त होटलमा काम सिकिसकेपछि २०६९ सालमा कार्की साउदी अरब गएको देखिएको महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी रुगम कुवँरले नेपाल लाइभलाई जानकारी दिए।
साउदीमा उनले वर्गर कम्पनीमा ५ वर्ष काम गरे। साउदीमै रहँदा उनले युवतीलाई सिरिन्ज आक्रमण गरेको घटना टेलिभिजनमा हेर्नुका साथै प्रत्यक्ष देखेको पनि बताएका छन्।
साउदीमा ५ वर्ष काम गरेपछि उनी २०७४ अन्तिमका नेपाल फर्किएका थिए। विदेशबाट कमाएर ल्याएको पैसाले उनले महाराजगन्जको भाटभटेनी सुपर मार्केटअगाडि ५५ लाख रुपैयाँ हालेर एक फास्टफुड रेस्टुरेन्ट खरिद गरी सञ्चालन गर्दै आएका थिए।
कार्कीलाई मुलुकी अपराध संहिता ऐन २०४७ को परिच्छेद ५ को दफा १०४ अनुसार कारबाही हुनेछ। उक्त दफा अनुसार कसैको ज्यानलाई खतरा पुर्याउन सक्ने वा कुनै रौग फैलाउने नियतले काम गर्न नहुने उल्लेख छ। सोहीअनुसार प्रहरीले मुद्दाअगाडि बढाएमा १० वर्षसम्म कैद र १ लाख जरिवाना हुने कानुनी व्यवस्था रहेको छ।
सम्बन्धित समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।