रत्ननगर– चितवनको विकट गाउँ लोथरमा ठूलो क्षेत्रमा लगाइएको गाँजाखेती प्रहरीले नष्ट गरेको छ।
चितवनको राप्ती नगरपालिकाको पहाडी इलाका लोथरस्थित बाखराङ, यौरालीटार, कालिकाटार, धनवाङलगायत क्षेत्रमा झन्डै ९ बिघा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको चितवनका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय चितवनको विशेष सुरक्षा योजनाअनुरुप शुक्रबार र शनिबार ९३ जना प्रहरीको टोली परिचालन गरी गाँजा फाँडेर जलाई नष्ट गरिएको आचार्यले बताए।
जिल्लाको उत्तरी भेगमा रहेका राप्ती नगरपालिकाको विभिन्न क्षेत्रमा गाँजाखेती गरिएको भन्ने सूचनाका आधारमा हेटौँडाबाट समेत प्रहरी टोली मगाई गाँजा नष्ट गरिएको चितवन प्रहरीले जनाएको छ। गाँजा फाँड्नका लागि जिल्ला प्रहरी कार्यालय चितवन, इलाका प्रहरी कार्यालय रत्ननगर र खैरहनी तथा भण्डारा र हेटौँडाबाट समेत प्रहरी टोली खटाइएको थियो।
प्रहरीका अनुसार राप्ती नगरपालिका वडा नं. १२ स्थित बाख्राङ गाउँस्थित २ बिघा १० कट्ठा जग्गामा लगाइएको गाँजा नष्ट गरिएको छ।
यस्तै, सोही नगरपालिकाको वडा नं. १३ कालिटारमा ३ बिगाहा १० कट्ठा, वडा नं. १२ स्थित यौरालीटार र धानबाङ गाउँमा २ बिगाहा १८ कट्ठामा लगाइएको गाँजाखेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।