काठमाडौं– कवि संगीत स्रोताको पक्राउलाई सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रहरी झुक्किएको हुनसक्ने बताएका छन्।
मन्त्रिपरिषद्को निर्णय सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले भने– 'पुलिसले विभिन्न ठाउँमा विभिन्न व्यक्तिहरुका बारेमा अनुसन्धान गरिरहेको हुन्छ। कहीँ झुक्किन पनि सक्ला। सायद पुलिसले कसैप्रति सर्च गर्दै थियो। कहिलेकाहीँ उस्तैउस्तै लाग्न सक्छ नि!'
उनले उस्तैउस्तै लागेकाले समातेको र पुष्टि नभएपछि छोडिदिएको हुनसक्ने भएकाले सरकारले त्यसलाई सामान्य रुपमा लिएको संकेत गरे।
पक्राउ र इन्काउन्टरका घटनाहरु बढ्दै गएकाले सरकारको यस किसिमको प्रवृत्ति ट्रेलर मात्रै हो कि फिल्म नै हो भन्ने प्रश्नमा उनले भने– 'कुनै ट्रेलर होइन। फिल्म पनि होइन। त्यो जीवन हो। र जीवनहरुको रक्षा गर्नु, शान्तिपूर्वक बाँच्न पाउनु र बाँच्न दिनु सरकारको कर्तव्य र दायित्व हो।'
बुधबार प्रदर्शनी मार्गमा हिँडिरहेका बेलामा कवि संगीत स्रोतालाई पक्राउ गरिएको थियो। उनलाई केही घण्टामा 'झुक्किएर पक्राउ गरिएको' भन्दै छाडिएको थियो।
यो पनि पढ्नुहोस्ः
पत्रकार संगीत स्रोता पक्राउ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।