काठमाडौं– सरकारको कार्य–क्षमताबारे सर्वत्र बहस भइरहेका बेला नेकपा अध्यक्षद्वयले मन्त्रिमण्डल हेरफेरका लागि गृहकार्य सुरु गरेका छन्।
दुई महिनाअघि नै मन्त्रीमण्डलका सदस्यहरुको जिम्मेवारी हेरफेर हुने र केही नयाँ अनुहार पनि समावेश गर्ने विषयमा नेताहरुबीच चर्चा–परिचर्चा भए पनि यसले मूर्तता पाउन सकेको थिएन।
‘हो, अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच यसबारे कुराकानी भइरहेको छ’, प्रधानमन्त्री ओली निकट एक नेताले भने, ‘तर उहाँहरुले यो विषयलाई कसरी बैठान गर्नुहुन्छ भन्ने छलफल जारी रहेकाले यसै भन्न सकिन्न।’
सरकारमा रहेका मन्त्रीको जिम्मेवारी हेरफेर गर्न दुई नेताहरुले एक प्रकारको मापदण्ड बनाएर निर्णय लिने बताइएको छ। ‘मापदण्ड भनेको एक वर्षमा सम्बिन्धित मन्त्रालयले गरेको कार्य क्षमता नै हो’, ती नेताले भने, ‘तर पाटीको आन्तिक समिकरणलाईलाई पनि ख्याल गरिन्छ होला।’
अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि मात्र मन्त्रीमण्डल हेरफेरका विषयमा आफूले प्रधानमन्त्री ओलीसँग कुराकानी गरेको बताएका थिए। यद्यपी उनले मन्त्रीमण्डलमा नयाँ अनुहार समावेश, कुनै मन्त्रीको विदाइका विषयमा भने केही खुलाएका छैनन्।
तर, वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले कम्तिमा पनि ६ जना पुराना मन्त्रीहरु विदा गरेर तत्तत् स्थानमा पार्टीका नयाँ नेताहरुलाई जिम्मेवारी दिने तयारी गरेका छन्।
त्यसका लागि ओलीले योगेश भट्टराई, महेश बस्नेत र पार्वत गुरुङलाई बालुवाटार बोलाएर छलफल गरिसकेका छन्। यी तीन नेताहरु मन्त्रीका आकांक्षी हुन्। तर अरु दुई या तीन जना आकांक्षीसँग पनि ओलीले छलफलको तयारी गरेको बताइएको छ।
त्यसैगरी पुष्पकमल दाहालले भने पूर्व माओवादीबाट आकांक्षीहरु जनार्दन शर्मा, प्रभु शाह र देवेन्द्र पौडेललाई आफ्नो निवास बोलाएर छलफल गरेको खबर राजधानीबाट प्रकाशित एक दैनिकले लेखेको छ।
‘आकांक्षीहरु अरुहरु पनि छन्, छलफल प्रारम्भ भएको साँचो हो’, पुष्पकमल निकट एक नेताले भने, ‘अध्यक्षज्यूले अरुहरुसँग पनि छलफल गर्नुहोला। नामको टुंगो लागिसकेको भन्ने होइन।
नेकपाभित्र मन्त्रीका आकांक्षी नामहरु अरु पनि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।