काठमाडौं– नेपालले अफ्रिकी राष्ट्र बुर्किना फासोसँग कुटनीतिक सम्बन्ध स्थापना गरेको छ। शुक्रबार बिहान न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा दुई राष्ट्रबीच संयुक्त दस्तावेजमा हस्ताक्षर भएको छ।
संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गा प्रसाद भट्टराई र बुर्किना फासोबाट राष्ट्रसंघका स्थायी प्रतिनिधि यमदागो इरिक ताइरेले दस्तावेजमा हस्ताक्षर गरेका हुन्। न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगद्वारा जारी बिज्ञप्तीमा राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरेसलाई जानकारी दिई कुटनीतिक सम्बन्ध स्थापना गरिएको हो।
बुर्किना फासो पश्चिम अफ्रिकी देश हो। २ लाख ७४ हजार २ सय स्क्वायर भूगोल भएको उक्त देशको एक करोड ७० लाख जनसंख्या छ। ‘बुर्किना फासा’को अर्थ असल मानिसहरुको भूमि बन्ने हुन्छ। सन् २०१७ मा नेपालले १२ वटा देशसँग कुटनीतिक सम्बन्ध स्थापना गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।