कपिलवस्तु- कपिलवस्तुका नेटुवा जातिले आफूहरुलाई अल्पसंख्यक जातिको सूचीमा राख्न सरकारसँग माग गरेका छन्।
शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरमा बसोबास गर्दै आएका नेटुवा जातिले तीन दशकदेखि यस्तो माग राख्दै आए पनि अहिलेसम्म बनेका कुनै पनि सरकारले नसुनेको गुनासो गरेका छन्।
प्रगतिनगर सुकुम्बासी बस्तीमा १४ घरमा करिब २०० बढी नेटुवा जातिको बसोबास छ। सुकुम्बासी बस्तीमा बस्दै आएका उनीहरुको नागरिकताको प्रमाणपत्रबाहेक अहिलेसम्म केही पनि छैन।
आफूहरुभन्दा माथिल्लो जातको रुपमा रहेको पथ्थरकट्टालाई सूचीकृतमा राखेर राज्यले सुविधा दिए पनि आफूहरु अझै अल्पसंख्यक जातिको सूचीमा पर्न नसकेको उनीहरुले गुनासो गरेका छन्। अल्पसंख्यक जातिमा सूचीकृत समुदायका प्रत्येक व्यक्तिले सरकारबाट मासिक दुई हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँछन्।
उनीहरु गाँस, बाँस, कपासको चिन्ता बाँच्दै आएका छन्। शिक्षा, स्वास्थ्य, रोजगारबाट समेत वञ्चित भएका उनीहरुको दैनिकी कष्टकर छ। दिनभरि भिक्षा मागेर खाने दैनिकी बनेको छ। उनीहरु सर्प नचाएर पाएको पैसा तथा अन्नले गुजारा चलाउँदै आएका छन्।
नेटुवा थर भएको नागरिकता बनाए पनि आफूहरु पथ्थरकट्टाभन्दा तल्लो जाति भएको महेन्द्र नटुवाले बताए। वर्षौंदेखि यही माग राखेर आफूहरुले नेतालाई भोट दिएर जिताउँदै आए पनि मुखसम्म देखाउन नआएको अर्का स्थानीय मनोज नेटुवाले दुखेसो पोखे।
कपिलवस्तुमा प्रमुख जिल्ला अधिकारी मार्फत धेरै पटक सरकारलाई ज्ञापनपत्र बुझाए माग पूरा हुन नसकेको उनीहरुको भनाइ छ।
०६८ सालको राष्ट्रिय जनगणनाअनुसार कपिलवस्तुमा ३०० को हाराहारीमा नेटुवा जातिको बसोबास छ। शुद्धोधन गाउँपालिकाको प्रगतिनगर, वसन्तपुर र मायादेवी गाउँपालिकाको अभिरावलगायतका स्थानमा नेटुवा जाति बस्ने गर्छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।