राजविराज– मंगलबार राति कुटपिट गरी हत्या गरिएका तिरहुत निवासी युवकका आफन्तले आज सदरमुकाम राजविराजमा शवसहित प्रदर्शन गरेका छन्।
घटनाको दुई दिन बितिसक्दा पनि प्रहरीले उजुरी दर्ता नगरेपछि मृतकका आफन्त र गाउँलेहरु प्रदर्शनमा उत्रिएका हुन्। उजुरी दर्ता गरी दोषीलाई कारबाही गर्न उनीहरुले माग गरेका छन्। प्रदर्शनकारीले करिब आधा घन्टासम्म नाराजुलुस सहित जिल्ला प्रशासन कार्यालय घेराउ पनि गरे।
मुद्दा दर्ता नगरेसम्म सिडिओ कार्यालयवाट शव नउठाउने प्रदर्शनकारीको अडानपछि सिडिओ सुरेन्द्र पौडेलले टेलिफोनमार्फत प्रहरीलाई मुद्दा दर्ता गरी अनुसन्धान गर्न निर्देशन दिए। सिडिओको निर्देशनपछि प्रदर्शनकारीहरु शव लिएर फर्किएका छन्।
तिरहुत गाउँपालिका–३, पिप्राही निवासी उपेन्द्रप्रसाद यादवका छोरा २५ वर्षीय जयकृष्ण विराजी (यादव) को मंगलबार राति करिब २ बजे युवाहरुको समूहले कुटपिट गरी हत्या गरेको थियो। राजविराज नगरपालिका ७ स्थित खर्साल टोलमा भएको हत्याको कारण खुलेको छैन। तर, केटीको विषयमा विवाद भएर घटना भएको हुन सक्ने स्थानीयले आँकलन गरेका छन्। उनी राजविराजस्थित पिस जोन बोर्डिङ्ग स्कुलको होस्टल वार्डेन थिए।
कुटपिटबाट घाइते भएका यादवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा प्राथमिक उपचारपछि विराटनगरको नोबेल अस्पताल पठाइएको थियो। उपचारकै क्रममा बुधवार दिउँसो उनको मृत्यु भएपछि खर्साल टोलका कतिपय युवा फरार भएको स्थानीयले बताए।
जिल्ला प्रहरी कार्यालय सप्तरीले भने आज्ञत समूहले कुटपिट गरी युवकको हत्या गरेको जानकारी दिएको छ। घटनामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको र अनुसन्धान कार्य जारी रहेको डिएसपी भावेश रिमालले जानकारी दिए।
सिडिओ पौडेलले घटनाका दोषीले उन्मुक्ति नपाउने र निर्दोष नफस्ने प्रतिबद्धता जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।