चौतारा- बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–ग्यालथुम खण्डको सुरुङको निर्माण कार्य सम्पन्न भएको छ।
सो खण्डको ८ दशमलव ३ किलोमिटर सुरुङको अन्तिम बिन्दुमा निर्धारित कार्यक्रमअनुसार शुक्रबार राति १२ बजे दुई वटा विस्फोट गराई सुरुङ छेड्ने काम सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए।
सुरुङ छेड्ने काम सम्पन्न भएसँगै भित्तो ढलान गर्ने कामसमेत सँगसँगै भइरहेको पन्तले बताए।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाअन्तर्गत अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७ दशमलव ५ किमि सुरुङमध्ये अब ग्यालथुमदेखि सिन्धु खण्डको ४५० मिटर सुरुङ निर्माण गर्न बाँकी छ।
सो खण्डमा अझै करिब तीन महिना समय लाग्ने बताइएको छ। सिन्धु खण्डको सुरुङमा कमसल भूभाग निस्किएकाले बढी समय लाग्ने भए पनि आगामी चैतसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ।
मुहान रहेको हेलम्बुको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७ दशमलव ५ किमि सुरुङमध्ये सबैभन्दा लामो सिन्धुदेखि सुन्दरीजल खण्डको ९ दशमलव ५ किमि सुरुङ गत वर्ष नै सम्पन्न भइसकेको छ।
एसियाली विकास बैंक (एडिबी) को ८० प्रतिशत सहयोग रहेको सो आयोजनाको सुरुङ निर्माणको लागि भ्याटबाहेक रु १० अर्ब ६५ करोड खर्च लाग्ने अनुमान गरिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।