पाल्पा – मगर समुदायको ज्ञान, सीप, कला, संस्कृति, रहनसहनमा आधारित चलचित्र पाहुर निर्माण गरिएको छ।
मगर संस्कृतिमा आधारित चलचित्र पाहुरमा मगरी संस्कृति जर्गेना गर्ने उद्देश्यले निर्माण गरिएको हो । माघे संक्रान्तिका दिनमा च्यारिटी शोका लागि तयार गरिएको यस चलचित्रमा चार वटा मगरी संस्कृतिमा आधारित गीत रहेका छन्।
चलचित्रको ‘लेकैमा फुल्यो लाली गुरास...’ बोलको गीत सार्वजनिक गर्न आयोजित कार्यक्रममा निर्माता श्याम थापामगरले समुदायभित्र परम्परागत सामाजिक अवस्था र त्यसलाई उजागार गर्न चलचित्र निर्माण गरिएको बताए।
मगरी परम्परामा पाहुरलाई मुख्य आधार बनाएर यस चलचित्रको निर्माण गरिएको छ । पाल्पा गुल्मी, रुपन्देही जिल्ला ऐतिहासिक क्षेत्र तथा मगरी बस्तीमालाई कैद गरेर चलचित्र निर्माण गरिएको निर्देशक सुमन थापामगरले बताए।
मगर गाउँको परिवेश र पुरानो संस्कृति जोगाउन चलचित्र निर्माण गरेको उनको भनाइ छ।
मगर समाजको मुद्दा पहिचान गर्न चलचित्रले सन्देश दिन्छजस्तो लाग्छ, कथा लेखक बाबुराम घिमिरेले भने, “यसले पक्कै पनि मगर समुदायको संस्कृति र रहनसहनलाई बाहिर ल्याउन फाइदा पुग्नेछ भन्ने हाम्रो बुझाई छ।”
चलचित्रमा देखाइएको दृष्य, मुद्दाका विषयमा आगामी दिनमा समस्या समाधान तथा विषयवस्तुमा आधारित रहेर बहस होस् भन्ने चाहेको घिमिरेले बताए।
मगर संस्कृतिको चलचित्र बजारलाई विस्तार गर्नमा सहयोग पुग्ने विश्वास लिइएको छ । चलचित्रको कथा मगरी समुदायको प्रथा वा कुप्रथा के भन्ने कुरालाई आधार मानिएको छ।
रु १२ लाख लगानीमा निर्माण गरिएको चलचित्रले पुरानो चलनसँगै समाज परिवर्तन गर्नलाई सन्देश दिने निर्माता थापाले बताए। पाल्पा जिल्लामा मगर समुदायको बाहुल्यता रहिआएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।