डडेलधुरा- डडेलधुराको वुडर जोगबुढा सडक निर्माण कार्य थालिएको तीन दशकपछि कालोपत्रे लगायतको काम सुरु भएको छ।
डोटी वुडरदेखि डडेलधुराको सदरमुकाम जोगबुढासम्मको ३० किलोमिटर सडकमा कालोपत्रेको काम थालिएको हो। पूर्वाधार विकास कार्यालय डडेलधुराको करीब ५२ करोड रुपैयाँको लागतमा सडक कालोपत्रे गर्ने काम थालिएको हो। हाल सडकको चौडा गर्ने र पर्खाल लगाउने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ।
सिएसटी प्रविधिमा सडक कालोपत्रे भइरहेको छ। सडक कालोपत्रे भएपछि भित्री मधेशका आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका साथै भागेश्वर गाउँपालिकाकाको वडा नम्बर १ र २ का केही गाउँका स्थानीय लाभान्वित हुने परशुराम नगरपालिका प्रमुख भीमबहादुर साउदले बताए। खोलामा पुल निर्माण नहुँदा वर्षातको समयमा यात्रुलाई केही असजिलो हुने भएकाले पुल निर्माण गर्नका लागि पहल गरिरहेको उनको भनाइ थियो।
जिल्लाकै आधा जनसङ्ख्या रहेको भित्री मधेश क्षेत्रको प्रमुख सडकका रुपमा रहेको यो सडक कालोपत्रे भएपछि बाह्रै महिना सहजरूपमा यातायात सञ्चालन हुने आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए। स्थानीय उत्पादनलाई सहजरूपमा अन्यन्त्र पठाउन पनि बाटो खुल्ने स्थानीयको भनाइ छ। रासस/प्रतिकात्मक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।