धनगढी- सुदुरपश्चिम प्रदेशमा पहिलोपटक दुरबिन प्रविधिबाट पाठेघरभित्रको परीक्षण तथा उपचार गर्ने हिस्टेरोस्कोपी सुरु भएको छ।
निजी क्षेत्रबाट संचालित धनगढीको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा पहिलोपटक यस्तो प्रविधिबाट उपचार भएको हो। वीरेन्द्रनगर नगरपालिका, सुर्खेत घर भएकी ३१ वर्षकी एक महिलाको उक्त परीक्षण एवं उपचार भएको हो।
विगत ३ वर्षदेखि बाँझोपनको समस्याबाट आजित भएकी उनी उपचारका लागि कोहलपुर, नेपालगन्जसमेत पुगिसकेकि थिइन्। त्यहाँ हरेक पटक जाँदा औषधी मात्र दिने, विभिन्न जाँचहरु गर्दा समेत समस्या के हो भनेर पत्ता नलाग्ने र समाधान नभएको बिरामीका आफन्तले बताए।
वास्तविक समस्या के हो भनेर थाहा पाउन सकिने र थप उपचार गर्न सकिने यस किसिमको प्रविधि त्यहाँ नहुने भएपछि नजिकमा धनगढीको निसर्ग हस्पिटल पुगेकी थिइन्।
दुरबिन प्रविधिबाट गरिने यस हिस्टेरोस्कोपीबाट उनको दायाँ डिम्बबाहिनी नलीको मुख बन्द भएको देखिएको छ। दुरबिन प्रविधिकै माध्यमबाट बिना चिरफार उनको उक्त बन्द भएको नलीको मुख खोलिएको छ।
उनले अब गर्भधारण गर्न सक्ने संभावना बढेको अस्पतालले जानकारी दिएको छ।
यस किसिमको परीक्षण तथा उपचार प्रविधि बाँझोपनको समस्या थाहा पाउन, डिम्बबाहिनी नलीको मुख बन्द भएको हेर्न र खोल्न, पाठेघर भित्र मासु पलाएको हेर्न र फाल्न, ट्युमर भएको हेर्न र निकाल्न, पाठेघरको मुखरप्वाल चिप्किएको हेर्न र खोल्न, पाठेघर सम्बन्धी समस्यामा बायोप्सीलगायतका जाँच गर्न यो उपचार पद्धति लाभदायी हुने गर्छ।
उनको उपचारमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा. डा. नजमुस्सबा अन्सारी र वरिष्ठ एनेस्थेसियोलोजिस्ट तथा कृटिकल केयर विशेषज्ञ डा. हेमन्त ओझा लगायतको टिम खटिएको थियो।
हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले अझै पनि कतिपय अवस्थामा बिरामी तथा आफन्तहरुले यहाँ उपचार हुन्छ भन्ने थाहा नपाएकै कारणले पनि बाहिर जान बाध्य भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।