जनकपुर- गुठी संस्थानको सार्वजनिक जग्गा संरक्षणमा स्थानीय जुटेका छन्। जनकपुरधाम उपमहानगरपालिका-२३ मा गुठी संस्थान मातहत रहेको जग्गा अतिक्रमण गरी बनाइएका संरचना स्थानीयले खाली गराएका हुन्।
विश्व भारतीय फाउन्डेसन नामक संस्थाले कुट्टीको जग्गा अतिक्रमण गरी बनाएको घरटहरा स्थानीयहरुले तोडफोड गरेर हटाएका छन्। गुठीको जग्गा अतिक्रमण गरी फाउन्डेसनले घर निर्माण गर्न लागेको भन्दै स्थानीयहरुले तोडफोड गरी हटाएका हुन्।
गुठी अधिनस्थ करिब १२ बिघा जग्गाबाट फाउन्डेसनले साढे एक बिघा जग्गा अतिक्रमण गरेको स्थानीय जनकपुर युथ क्लबका पूर्वअध्यक्ष चन्दन रायले बताए। फाउन्डेसनले विद्यालय सञ्चालन गर्ने भनेर निर्माण गरेको जग्गामा बासस्थान बनाइसकेको भन्दै स्थानीयले अतिक्रमण हटाएर गुठी संस्थानको जग्गा संरक्षण गर्न यो कदम उठाउनु परेको बताए।
यसअघि गुठीको जग्गामा मानिसले कब्जा गरी गैरकानुनी रुपमा घर बनाइसकेको बताउँदै उनले बाँकी रहेका जग्गामा समेत अनाधिकृत रुपमा घर निर्माण सुरु हुनलाग्दा स्थानीयले रोक्ने प्रयास गरेको उल्लेख गरे।
वडाअध्यक्ष शत्रुधन पाण्डेयले गुठीको जग्गा कब्जा गरी झण्डै १३७ घर टहरा निर्माण भइसकेको बताए। केही व्यक्तिहरुले गुठी संस्थानलाई आफ्नो प्रभावमा पारी जग्गा अतिक्रमण गरेको उनको भनाइ छ।
स्थानीयहरुले गुठीको जग्गा संरक्षण गर्ने उद्देश्यले संरक्षण समिति समेत गठन गरेका छन्। वडा अध्यक्ष पाण्डेयसहित समाजका विभिन्न व्यक्तिहरुको उपस्थितिमा बसेको भेलाले जनकपुर युथ क्लबका पूर्वअध्यक्ष रायको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ। समितिलाई जग्गा संरक्षण गर्नेसम्बन्धी सम्बन्धी अधिकार दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।