काठमाडौं– काठमाडौं उपत्यकाको प्रदूषण न्युनिकरण गर्ने योजना अनुरुप शुक्रवार गरिएको अनुगमनमा अधिकांस गाडी फेल भएका छन्। ‘द्रूत कार्यान्वयन कार्यदल’को अगुवार्इमा संयुक्त अनुगमन टोलीले गरेको सवारी प्रदूषण जाँचमा २५ मा १३ गाडी फेल भएका हुन्।
कार्यदलका संयोजक डा नारायण रेग्मीका अनुसार फेल हुनेहरुको तत्काल ग्रीन स्टीकर च्यातिएको छ। यसैगरी कारवाहीका लागि यातायात कार्यालय पठाउने बताइएको छ।
उपत्यकामा वायु प्रदूषण बढेको महसुस गर्दै प्रदूषण नियन्त्रण गर्न र सरोकारवाला निकायबीच छलफल र समन्वय गर्न सरकारले केही समयअघि मात्रै ‘द्रूत कार्यान्वयन कार्यदल’ गठन गरिएको हो।
प्रधानमन्त्री कार्यालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीको संयोजकत्वमा वातावरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौँ महानगरपालिका लगायत सम्बन्धित निकायका प्रतिनिधि रहेको कार्यदल गठन गरिएपछि यसका लागि विभन्न काम भइरहेका छन्।
गाडी जाँच गरिनुका साथै धुलो उठाउने, जहाँतहीँ फोहोर जलाउन रोक्ने र पानी छम्किने काम भइरहेको डा रेग्मी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।